अपडेट 
२०८१ असार १, शनिबार १९:१३

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेशको बजेट आकार डेढ अर्बले घटेको छ।

चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको हो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ। मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए।

मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए।

प्रस्तुत बजेटमा कृषि, सिँचाइ, पर्यटन, खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइएको छ। आवास, खानेपानी, स्वास्थ्य, शिक्षा सहितको व्यवस्थित सहर विकासको योजनालाई पनि बजेटमा प्राथमिकता दिइएको छ।

प्रदेशका गौरवका आयोजना प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण, कृषिको आधार सिँचाइमा सुधार भन्ने नारासहित खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने गरी बजेट विनियोजन गरिएको छ भने उज्यालो प्रदेश लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयनका लागि पनि बजेट विनियोजन गरिएको छ।

रोकिएको झुम्सा चरङ्गे झुम्सा सडक बजेटमा समावेश गरिएको छ। सिद्धार्थ राजमार्गको जोखिमयुक्त सिद्धबाबा खण्डको विकल्पको रूपमा शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि बढाएको यो सडक पछिल्ला सरकारले बजेट कटौती गर्दा अलपत्र रहेको छ।

लुम्बिनी प्रदेश सरकारले ढाकाको उत्पादनलाई प्रवर्द्धन गर्न बजेट प्रस्तुत गर्दा ढाकाको झोला प्रयोग गरेको छ।

मन्त्री आचार्यले ढाकाको झोलामा बजेट बोकेर प्रदेश सभा पुगेका थिए। यसअघि संघीय सरकारले पनि गत जेठ १५ गते बजेट प्रस्तुत गर्दा नेपालमै बनेको अल्लोको ‘झोला’ प्रयोग गरेको थियो।

पूर्णपाठ:

Comment


Related News

Latest News

Trending News