अपडेट 
२०८१ असार २, आईतवार ०७:४२

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । उनले नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको बताए ।

मधेश प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्र्दभमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा शनिवार आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको बताए । पटक–पटक संघीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले बताए ।

नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको बताए । अर्का केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले मिटरब्याजसम्बन्धी कानुन सच्याउनुपर्ने धारणा राखेका थिए ।

सांसद रामकृष्ण यादवले कांग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनपर्छ आवश्यकता माथि जोड दिएका थिए । कांग्रेस मधेश प्रदेशका सभापति एवं प्रदेश सभासदस्य कृष्ण यादवले मधेशलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राखे । एसोसिएसनका अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका सभासदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका थिए ।

सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेश प्रदेशका पालिकाका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा कानुनी र वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गरेका थिए । त्यस्तै नेपाल प्रेस युनियनले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता डा कोइरालाले सत्ता केन्द्रीत राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताए ।उनले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताए ।

नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिए । “राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटक–पटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो ।

यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, उनले भने । अब सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएकामा जोड दिँदै नेता डा कोइरालाले त्यसका लागि निर्वाचन प्रणालीमा सुधार गर्न छलफल अगाडि बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।

यसैगरी उनले अस्थिर राजनीतिका कारण विकासले गती नपाउने मात्र नभइ राजनीतिमा अपराधीकरणले प्रश्रय पाइरहेकाले राज्यका निकायले समेत आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताए । “हामीले देखिरहेका छौँ सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारको दुरुपयोग भइरहेको छ ।

कानुनअनुसार काम गर्ने दायित्व भएका निर्वाचन आयोग, सिआइबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकाय पनि चुकिरहेका छन् । यी सबैको जड भनेकै अस्थिरता र राजनीतिमा अपराधीकरण छ” उनले भने ।

Comment


Related News

Latest News

Trending News