अपडेट 
२०८१ असार ४, मंगलवार ०७:१९

जीतपुरसिमरा उपमहानगरपालिकाको एक सहकारीले ऋण तिर्दा पनि शेयर सदस्यको जग्गा फिर्ता गरेको छैन ।

उपमहानगरपालिका वडा नं. ५ मा रहेको समिश्रण कृषि सहकारी संस्था बकुलियाले १४ लाख रुपैयाँ लिएको ऋण चुक्ता गर्दा पनि सहकारीले धितो राखेको जग्गा फुकुवा नगरेको पीडित शेयर सदस्य मुक्ति धामीले जानकारी दिए । उनले ऋण चुक्ता गरेको सात महिना पुग्न लाग्दा पनि सहकारीले जग्गा फुकुवा नगरेको दुखेसो गरे ।

समिश्रणले आफ्नो किता नं.३७६ को जग्गा १३ कठ्ठा दुई धुर राष्ट्रिय सहकारी बैँक सिमरामा धितो राखेर ऋण लिएको बताए । सहकारीले जग्गा फुकुवा नगर्दा आफ्नो जग्गा बिक्रिबितरण गर्न नसकेको धामीले बताए । यता समिश्रण कृषि सहकारी संस्थाका प्रबन्धक तथा सचिव रमेश चौधरीले सञ्चालक सदस्यहरुको सहमतिमै आ–आफ्नो जग्गा राष्ट्रिय सहकारी बैँकमा धितो राखि संस्थाको नाममा ऋण लिएको बताए । उनले ऋण लिएका मुक्ति धामीकी श्रीमती मनोरमा चौधरी सहकारीको तत्कालीन कोषाध्यक्ष रहेको जानकारी दिए । सहकारीको नाममा २ करोड १० लाख रुपैयाँ ऋण सहकारी बैँकबाट लिएको बताए ।

सहकारीले लिएको ऋणमध्ये करिब १५ लाख रुपैयाँ बाँकी भएका कारण सहकारी बैँकले जग्गा फकुवा गर्न नमानेको प्रबन्धक चौधरी बताए । सहकारीको नाममा रहेको ऋण तिर्ने बित्तिकै आफूहरुले उनको जग्गा फिर्ता गर्ने बताए । तर कहिले सम्ममा जग्गा फुकुवा गर्ने विषयमा मिति तोक्न सकेनन् । बारम्बार सहकारी पक्ष र पीडित पक्षलाई वडामै बैठक बोलाएर समस्या समाधानको प्रयास गरेको तर अहिलेसम्म समस्याको समाधान नभएको वडा नं.५ का वडा अध्यक्ष दीपेन्द्र चौधरी बताए ।

जेठ १५ मै समिश्रण कृषि सहकारीका प्रतिनिधिहरुले धितो जग्गा फुकुवा गर्ने सहमती गरेका थिए । तर जेठ १५ मा फुकुवा गर्न नसक्दा असार १५ को समय लिएको वडा अध्यक्ष चौधरीले बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी तथा पर्यटन प्रवद्र्धन शाखा प्रमुख सुधन चौधरीले आफुलाई यस बिषयमा जानकारी नभएको बताए । पीडितले आफूलाई सो विषयमा जानकारी नभएको बताउँदै सो सम्बन्धमा लिखित निवेदनसमेत नआएकाले आवश्यक कानुनी कारबाही अगाडि बढाउन नसकिएको बताए ।

Comment


Related News

Latest News

Trending News