अपडेट 
२०८१ असार ५, बुधबार ०७:५७

नक्कली ड्राइभिंग लाइसेन्स जारी गर्ने कार्यमा संलग्न रहेका पाँच जना कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर दिलीप कुमार साहसहित ५ जना रहेका छन् । साह पक्राउ परेसँगै जनकपुरधामबाट पनि भारी संख्यामा फर्जी लाइसेन्स बितरण भएको अनुमान गरिएको छ । कम्प्युटर अपरेटर साहले सिस्टममै छिरेर गडबडी गरेको आरोप छ ।

यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत पदम राज आचार्य, तत्कालीन यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत सुवास पौडेल समेत पक्राउ परेको सीआईबीका प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीले जनाएका छन् ।

त्यसैगरी पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत सहायक कम्यूटर अपरेटर राजेश लम्साल पनि रहेका छन् । यातायात व्यवस्था विभागको केन्द्रीय सवारीचालक अनुमतिपत्र प्रणाली लागु हुनुभन्दा अगाडि प्रणाली कार्यान्वयनमा रहेको ईडीएल प्रणालीमा स्थानान्तरण हुन बाँकी सवारीचालक अनुमतिपत्रहरु पेपरकार्ड विधिमार्फत यातायात व्यवस्था कार्यालयले ईडीएल प्रणालीमा ईन्ट्री गरी सवारीचालक अनुमतिपत्रहरु वितरण गर्ने व्यवस्था गरेको थियो ।

यसरी पेपरकार्ड विधिमार्फत यातायात व्यवस्था कार्यालयहरुले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरु समेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरु इन्ट्री गर्ने गरिएको थियो । सो इन्ट्रीको आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएपछि उक्त कार्यमा संलग्न ५ जना सरकारी कर्मचारीलाई सीआईबीले पक्राउ गरेको एसपी बोगटीले बताए ।

कर्मचारीहरुलाई पक्राउ गरी काठमाण्डु जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धान गरिरहेको जनाइएको छ । सर्वोच्च अदालतले नक्कली सवारी चालक अनुमति पत्र बनाएर भ्रष्टाचार गरेको अभियोग लागेका १६ जनालाई सफाइ दिएको छ । उनीहरु माथि पनि कम्प्युटर प्रणालीको दुरुपयोग गरी सवारी चालक अनुमति पत्र जारी गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका थिए ।

Comment


Related News

Latest News

Trending News