अपडेट 
२०८१ असार ६, बिहीबार ०६:५२

सप्तरीमा हरवाचरवालाई नागरिकता नभएका कारण विभिन्न अवसरबाट वञ्चित हुनु परेका छन् । रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित हुँदा स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छन् ।

सदाका श्रीमान रामप्रसादको १० वर्षअघि मृत्यु भइसकेको छ । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छिन् । नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस बनाए पनि जिल्ला प्रशासन कार्यालय सप्तरीले श्रीमान र बुबा–आमाको नागरिकता मागेको उनी बताउँछिन् । चुनरदेवी भनिन्, ‘श्रीमान्को नागरिकता त छ, तर मसँग बुबा–आमाको नागरिकता छैन ।’ बुबा–आमाका बितेको करिब २० वर्ष भइसकेकाले नागरिकता आफुसँग उपलब्ध नभएको बताइन् ।

नागरिकता नपाउँदा चुनरदेवीका २५ वर्षीय छोरा सञ्जीवलाई समस्या भएको छ । नागरिकता नबन्दा सञ्जीवले सात वर्षीय छोराको जन्मदर्ता प्रमाणपत्र बनाउन सक्नुभएको छैन । रुपनी–२ लौवापारका बिलट सदा पनि नागरिकताबाट वञ्चित छिन् । सानै उमेरमा बुबा–आमा गुमाएकाले आफू नागरिकताबाट वञ्चित हुनुपरेको उनको भनाइ छ । नागरिकताका लागि सबै निकायलाई गुहारे पनि अझै पाउन नसकेको बिलट गुनासो गरिन् । उनले पनि नागरिकताका लागि वडाबाट सिफारिस भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालयले बुबा– आमाको नागरिकता माग्दा बिलटले दिन सकेको छैन ।

उनको नागरिकताको पहल गरिदिन वडाध्यक्षसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेपनि नागरिकता बन्न सकेन । स्थानीय २८ वर्षीया सङ्गीतादेवी सदाले पनि अझै नागरिकता पाउन सकेकी छैनन् । सिरहा माइत भएकी उनको स्थानीय उमेश सदासँग विवाह भएको छ । बुबाको नागरिकता वा मृत्युदर्ता नहुँदा नागरिकता बनाउन नसकेको उनको भनाइ छ ।

नागरिकता नभएपछि गाउँमा गठन हुने महिला समूहमा आबद्ध हुन नपाएको संगीतादेवी बताउँछिन् । जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबाआमाको नागरिकता नहँुदा सन्तानको पहिचान संकटमा छ । नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोजे तर आफ्नो जन्मदर्ता नभएको रुपनी–६ का दीपेन्द्र सदा बताउँछन् ।

नागरिकता नहुँदा समाज र समुदायबाट अलग हुनुपरेको उनको भनाइ छ । ‘नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेको छैन । राज्यले उपलब्ध गराउने हरेक सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।’ रुपनी गाउँपालिकाका चुनरदेवी, बिलट, संगीता र दीपेन्द्र मात्र होइन, सो गाउँपालिकाका विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या यथावत छ ।

वडामा जन्मदर्ता, विवाहदर्ता र नागरिकताको समस्या पाइएपछि ‘द फ्रिडम फण्ड’को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान थाल्ने तयारी गरेको छ । श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीका अनुसार अधिकांश दलित बालबालिका जन्मदर्ता नभएकै कारण पढाइबाट वञ्चित छन् ।

Comment


Related News

Latest News

Trending News