अपडेट 
२०८१ असार ७, शुक्रबार ०६:२९

मधेश प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कुल बजेटको आधी भन्दा बढी रकम नेकपा एमालेको भागमा रहेका ४ मन्त्रालयका लागि छुट्याइएको छ ।

अर्थ मन्त्री भरतप्रसाद साहले सार्वजनिक गरेका कुल बजेट ४३ अर्ब ८९ करोड, २१ लख ७० हजार मध्ये एमालेको भागमा रहेको ४ वटा मन्त्रालयका लागि २३ अर्ब, १९ करोड, ५३ लाख, ०६ हजार बिनियोजन गरिएको छ । यो रकम कुल बजेटको ५२ दशमलव ८४ प्रतिशत रहेको छ ।

एमालेको भागमा रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा १३ अर्ब , ११ करोड, ५२ लाख ७४ हजार रकम विनियोजन गरिएको छ । एमालेबाट सरकारमा नेतृत्व गरिरहेका संसदीय दलका नेता सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । त्यसैगरि एमालेका शत्रुधन प्रसाद सिंह कोइरी मन्त्री रहेका स्वास्थ्य मन्त्रालयमा ५ अर्ब, २१ करोड, ६५ लाख ६ हजार बजेट छुट्याइएको छ । भौतिक मन्त्रालयपछि सर्वाधिक बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विनियोजन भएको छ ।

एमालेकै राजकुमार लेखी मन्त्री रहेको शिक्षा तथा संस्कृति मन्त्रालयमा २ अर्ब ९० करोड, ५१ लाख ७६ हजार रकम विनियोजन गरिएको छ । त्यस्तै एमालेको भागमा रहेको खेलकुद तथा समाज कल्याण मन्त्रालयका लागि १ अर्ब, ९५ करोड, ८३ लाख, ५० हजार रकम विनियोजन गरिएको छ । खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल यस अघि एमालेबाट शिक्षा मन्त्री रहेका थिए । पर्सा जिल्लाबाट स्वतन्त्र भइ चुनाव जितेका जयसवाल एमालेमा प्रवेश गरे लगतै शिक्षा मन्त्री बनेका थिए । त्यसैगरि नेकपा एसको भागमा रहेको उर्जा , सिँचाई तथा खानेपानी मन्त्रालयका लागि ५ अर्ब, १७ करोड, ९६ लाख, ४२ हजार र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब,७९ करोड, १९ लाख विनियोजन गरिएको छ ।

नेकपा एसबाट बेची लुंगेली उर्जा, सिँचाई तथा खानेपानी मन्त्री छन् । संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने कृषि मन्त्री छन् । जनमत पार्टीको भागमा रहेको वन तथा वातावरण मन्त्रालयका लागि २ अर्ब ४२ करोड,४० लाख, २५ हजार रकम विनियोजन गरिएको छ । संघीय सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गरे पनि सरकार एमालेका अध्यक्ष केपी शर्मा ओलीको अनुसार चलिरहेको आरोप लाग्दै आएको छ ।

मधेश प्रदेशमा पनि सरकारको नेतृत्व जनमत पार्टी सभासद सतीश कुमार सिंहले गरिरहे पनि एमाले संसदीय दलका नेता यादवको नियन्त्रणमा सरकार रहेको आरोप लाग्न थालेको छ । एमालेका नेता, कार्यकर्ताहरुको चाहना अनुसार ४ वटा मन्त्रालयमा योजना राखिएको छ ।

बजेटबाट एमालेका नेता, कार्यकर्ताहरु सन्तुष्ट देखिएका छन् । तर भौतिक पूर्वाधार मन्त्री यादवले विकास सम्बद्ध मन्त्रालयहरु एमालेको भागमा परेकाले बढी बजेट देखिएको बताए । ‘सत्ता गठबन्धनका दलहरुबीच समन्वय भएरै बजेट आएको छ’ उनले भने, बजेट पार्टीगत आधारमा वितरण भएको छैन ।

बजेटबाट माओवादीमा असन्तुष्टि रहे पनि जनमत पार्टीले सरकारको नेतृत्व गर्न पाएकोमा नेता, कार्यकर्ताहरु खुशी छन् । उनीहरुले मधेशमा जनता समाजवादी पार्टी(जसपा)लाई संघीय र प्रदेश सरकारबाट विस्थापित गर्न सफल भएको बताउँदै सन्तुष्टि व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News