अपडेट 
२०८१ असार ८, शनिबार ११:५०

चन्द्रपुर नगरपालिका–४ स्थित पुर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक शुक्रबार भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई भारतीय छन् । दुर्घटनामा चार घाइते छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो जिपको पछाडि बायाँ साइडको चक्का पड्किए पछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

उक्त जिप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुखमा ठोक्किएर क्षतिग्रस्त जिपमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जिपमा सवार चार जना घाइते भएका छन् । घाइतेको बारास्थित निजगढ सामुदायिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनायो ।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो । प्रहरी निरीक्षक बर्तौलाका अनुसार दुर्घटनामा परी जिपमा सवार भारत बिहार पुर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेखको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का गम्भीर घाइते २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । आलमको मुख र टाउकोमा चोट लागेको थियो । स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर घाइते छन् ।

अर्का घाइते आशिष रेजाको ढाड, कम्मर र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । जिपमा सवार उल्लाह शेखको टाउकोमा चोट लागेको छ । सोही जिपमा सवार सद्धाम हुसेनको दुबै हात, खुट्टा र ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनायो । घाइते सबैको वीरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News