अपडेट 
२०८१ असार ९, आईतवार ०७:१९

जनता समाजवादी पार्टी( जसपा)नेपालको गत महिना सम्पन्न एकताको प्रथम राष्ट्रिय महाधिवेशनको म्याण्डेट अनुसार अध्यक्ष उपेन्द्र यादवले यसै हप्ता केन्द्रीय कार्यसमिति विस्तार गर्न लागेका छन् ।

महाधिवेशनबाट विधान अनुसारको २ सय १ सदस्यीय केन्द्रीय समिति चयन गर्न मतदान हुने अन्तिम क्षणमा सबै उम्मेदवारले मनोनयन फिर्ता लिएको घोषणा गरिएको थियो । त्यसपछि केन्द्रीय समिति विस्तार गर्ने सम्पूर्ण अधिकार केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । जसपा नेपालको विधान अनुसार सबै २ सय १ सदस्यीय केन्द्रीय समितिको चुनाव हुनुपर्ने हो । तर अध्यक्षमा यादव निर्विरोध भएपछि मतदान हुने अन्तिम समयमा अध्यक्षलाई केन्द्रीय समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो ।

महाधिवेशन सम्पन्न भएको १० दिन बितिसकेको छ । अध्यक्ष यादवले केन्द्रीय समिति विस्तारका लागि सघन छलफल गरिरहेका छन् । पार्टीका पूर्व कार्यकारिणी समिति सदस्य रहेका मनिष सुमनले यसै हप्ता केन्द्रीय समिति विस्तार हुने बताएका छन् । ‘केन्द्रीय समिति विस्तार अन्तिम चरणमा पुगेको छ ’ उनले भने, अध्यक्ष जी कार्यसमिति विस्तारका लागि सघन रुपमा छलफल गरिरहनु भएको छ ।

पार्टी विधान अनुसार महाधिवेशनमा मतदान हुँदा धेरै नेता पराजित हुने निश्चित देखेपछि अध्यक्ष यादवले मतदान रोकेर अधिकार आफैले लिएका थिए । चुनाव नहुँदा सहअध्यक्ष पदका उम्मेदवार राजकिशोर यादव सर्वाधिक मारमा परेका छन् । मतदान हुँदा उनी चुनाव जित्ने निश्चित थियो । तर अब रकम चेम्जोंगलाई अध्यक्ष यादवले सहअध्यक्ष बनाउने भएका छन् । महासचिवमा रामकुमार शर्मा र उपाध्यक्षमा लिला सिटौला निश्चित छ ।

केन्द्रीय समितिमा हाल अध्यक्ष बाहेक निर्विरोध भएका ७ जना सदस्य छन् । महाधिवेशन सम्पन्न भएपछि हाल सम्म केन्द्रीय समितिको बैठक बसेको छैन । एकजना नेताले जनाए अनुसार भदौ १३ गते सर्वोच्च अदालतले तोकेको पेशी भन्दा पूर्व केन्द्रीय समिति विस्तार हुने छैन ।‘ सर्वोच्च अदालतको फैसला भएपछि मात्र केन्द्रीय समिति विस्तार हुनेछ’ अध्यक्ष यादव निकटका एकजना युवा नेताले भने, केन्द्रीय समितिलाई पूर्णता दिन केही महिना लाग्नेछ । प्रदेश सरकारबाट बाहिरिएको अवस्था र सर्वोच्च अदालतको निर्णय पर्खिनु पर्ने विवशतामा जसपा नेपालका अध्यक्ष यादवको निर्णय हतारमा नहुने ती नेताले बताए । पार्टी पदाधिकारीका लागि दावेदार रहेकाहरु मध्ये केहीमा व्यापक असन्तुष्टि देखिएको छ ।

तर अध्यक्षको कोपभाजनमा पर्न सक्ने भयले मौन रहेका नेताहरु विद्रोह गर्न सक्ने आशंका पनि नेतृत्वलाई छ । पदाधिकारीमा युवाहरुले अवसर नपाउनेमा अधिकांश नेताहरु ढुक्क छन् । गत कार्यकारिणी समितिमा रहेका बुजुर्ग नेताहरु नै पदाधिकारीमा रहने बताइन्छ ।

Comment


Related News

Latest News

Trending News