अपडेट 
२०८१ असार ९, आईतवार १५:५२

हज यात्राका लागि साउदी अरबमा गएका सयौँ नागरिकको ज्यान गएपछि इजिप्ट सरकारले गैरकानुनी ट्राभल एजेन्सी बन्द गरेको छ ।

पर्याप्त तयारीविना हजयात्री पठाउँदा अकालमा कैयौँको ज्यान गएको भन्दै इजिप्ट सरकारले १६ वटा ट्राभल एजेन्सीमाथि प्रतिबन्ध लगाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो एउटा आपत्कालीन बैठक बोलाएर इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुलीले प्रक्रिया नपुर्‍याई र पूर्वतयारीविना यात्रीलाई साउदी अरब पठाउने ट्राभल कम्पनीमाथि प्रतिबन्ध लगाउन र कम्पनीका सञ्चालकलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो । कतिपय ट्राभल एजेन्सीले गैरकानुनी बाटोबाट पनि हजयात्रीलाई साउदी पुर्‍याएको अनुमान छ ।

५० हजार जना इजिप्टका नागरिक साउदी अरब गएकोमा दीर्घरोग लागेका ३१ जनाको ज्यान गएको छ । यस्तै साउदीको चर्को गर्मीका कारण छ सय जनाभन्दा धेरै इजिप्टका नागरिकको ज्यान गएको छ ।

इजिप्टका विदेशमन्त्री समेह शुक्रीले ज्यान गुमाउनेमध्ये धेरैजसो दर्ता नभएका तीर्थयात्री रहेका र यसमा ट्राभल कम्पनी नै मुख्य दोषी रहेको बताउनुभएको छ । उहाँले हराइरहेका इजिप्टका तीर्थयात्रीलाई जतिसक्दो चाँडो खोज्न र इजिप्टका सबै तीर्थयात्रीलाई घर फर्कने सुनिश्चित गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

Comment


Related News

Latest News

Trending News