अपडेट 
२०८१ असार १०, सोमबार १०:२९

पालिकाहरुले आउँदो आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तरसरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्थाअनुसार हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पालिकाले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।

सात सय ५३ पालिकामध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् । हिजोसम्म ३८ पालिकाले बजेट पेस गरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका ६, बागमतीका ६, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३, कर्णालीका १ र  सुदूरपश्चिम प्रदेशका ६ वटा पालिकाले बजेट पेस गरेका छन् । बाँकी पालिकाले आज बजेट सार्वजनिक गर्दैछन् ।

अघिल्लो वर्ष धेरै पालिकाले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न सकेका थिएनन् । समयमा बजेट नल्याउँदा वित्तीय अनुशासनमा प्रश्न उठ्नुका साथै खर्चमा समेत प्रभाव पर्ने गरेको छ ।

यसैबीच ललितपुरको गोदावरी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका र महोत्तरीको जलेश्वर नगरपालिकामा नेतृत्व नै नभएपछि नीति तथा कार्यक्रम र बजेट अन्योलमा परेको छ । भ्रष्टाचार मुद्दामा ती नगरपालिकाका मेयर र उपमेयर नै निलम्बनमा परेपछि दुवै पद एकै पटक रिक्त भएका हुन् ।

मेयर र उपमेयर नै नभएपछि पालिकाको बजेट कसरी ल्याउने भन्ने अन्योल भएको हो । पालिकाका प्रमुख तथा उपप्रमुख दुवै जना निलम्बित भएमा कार्यविभाजन कसरी गर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था छैन । तर कार्यपालिकाको निर्णयका आधारमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सक्ने मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News