अपडेट 
२०८१ असार १२, बुधबार ०६:५६

छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको निष्कर्ष निकालेको छ ।

गत जेठ २८ गते जिल्ला समन्वय समिति धनुषाका इन्जिनियर अजयकुमार यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले ठेकेदारले अनियमितता गरेको निष्कर्षसहित मंगलबार प्रतिवेदन बुझाएको छ । सो समितिले धनुषाको बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोला उत्खननका लागि गाउँपालिकाले लगाएको ठेक्का सम्झौतामा उल्लेख भएको परिमाणको पाँच गुणा बढी गिट्टी बालुवा उत्खनन गरेको प्रतिवेदनमा उल्लेख रहेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । उनले भने, ‘छानबिन समितिले बुझाएको नापजाँचसहितको प्रतिवेदनमा सम्झौता विपरीत पाँच गुणा बढी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको छ ।

अब बैठक बसेर के कसरी कारबाही प्रक्रिया अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ ।’ बटेश्वर गाउँपालिकाले गत फागुन ६ गते महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सलाई १४ हजार चार सय ४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि २७ लाख ९ हजार १ सय तीन रुपैयाँमा ठेक्का लगाएको थियो ।

ठेक्का सम्झौताअनुसार ठेकेदारले १५ जेठ २०८१ सम्म उक्त परिमाण उत्खनन गर्न पाउने थियो । तर ठेकेदार कम्पनीले सोलगायत ३२ बुँदे सम्झौतामध्ये अधिकांश बुँदा पालना नभएका देखिएको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । ठेकेदारले जेसिबी, स्काभेटर जस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिटसम्म गहिरो खाडल बनाएर नदीजन्य पदार्थ उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । खाडलका कारण सो वरिपरिका वस्तीहरु निरशपुर, विजयपुर र चित्रपुर बस्ती बाढीपहिरोको जोखिममा परेका छन् ।

गत जेठ दोस्रो साता प्रजिअ कडरियाले खोलाको अनुगमन गरी कारबाहीका लागि गाउँपालिका कार्यालयलाई पत्राचार गरेका थिए । जनप्रतिनिधि र पालिका कर्मचारीले बेवास्ता गरेपछि गत जेठ २८ गते उनले जिल्ला समन्वय समिति धनुषाका इन्जिनियर यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए । सो समितिमा बटेश्वर गाउँपालिका र हुलाकी सडक निर्देशनालयका इन्जिनियर सदस्य छन् ।

Comment


Related News

Latest News

Trending News