अपडेट 
२०८१ असार १२, बुधबार ०६:५८

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मिथिलाको सभ्यता संस्कृतिमा आधारित चलचित्र निर्माण गर्नुपर्ने बताएका छन् ।

जनकपुरधाममा मंगलबार मुख्यमन्त्री सिंहले टिभि सिरियलदेखि चलचित्रसम्म समाजमा विकृति फैलाउने गरी निर्माण तथा प्रदर्शन भइरहेकोले परम्परामा आधारित चलचित्र निर्माण गर्नुपर्ने बताए । मिथिलाञ्चल क्षेत्रमा कला, प्रतिभा र सभ्यता संस्कृतिले समृद्ध भएको चर्चा गर्दै मुख्यमन्त्री सिंहले मैथिली भाषा, सभ्यता र संस्कृति समृद्धि साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताए ।

मिथिलाको कला, धर्म, संस्कृतिलाई जोडेर पर्यटकीय सर्किटसहितको भिडियो डकुमेन्ट्रीलगायतका सामग्री निर्माण गरेमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

वरिष्ठ कलाकार नीर शाहले पाश्चात्य चलचित्रकर्मीहरु पुर्वीय आधारित चलचित्र निर्माण गर्न खाजी रहेकाले सो फिल्म निर्माण गर्न तर्फ लागेर अन्तर्राष्ट्रिय बजार निर्माण गर्नमा जोड दिए । उनले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गरे ।

सो कार्यक्रममा महोत्सवका निर्देशक रमेश रञ्जन, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झालगायतका वक्ताहरुले मैथिली भाषाको अन्तर्राष्ट्रिय ‘फिल्म फेस्टिभल’ले भाषा, संस्कृति तथा कलाको संरक्षणको आवश्यकतामा जोड दिए । ‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी रहेका छन् । दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ संघीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र मन्दिरमा सुरु भएको ‘ फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यस्तै वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने महोत्सवका निर्देशक झाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News