अपडेट 
२०८१ असार १४, शुक्रबार ०७:५५

नेपालीले भारत र भुटानमा क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै सो व्यवस्था गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्यूआर लगायत विद्युतीय माध्यमबाट विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पमेन्टको भुक्तानी प्राप्ति र भुक्तानी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागले उक्त व्यवस्था नगर्दै नेपालमा भुक्तानी प्रणाली सञ्चालकहरूले भुक्तानी प्राप्त गर्न सुरु गरेका थिए । भुक्तानी प्रणाली विभागले भुक्तानी जारी गर्न सक्ने र विदेशी विनिमय व्यवस्थापन विभागले भारतमा क्यूआर र विद्युतीय माध्यमबाट नेपालीले गर्ने कारोबारको सीमा तोकेको छ ।

यससँगै नेपालीले पनि भारतमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने छन् । भारतीय रुपैयाँको सटही सुविधा क्यूआर कोड र विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी हुने गरी समेत उपलब्ध गराउने सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्णरूपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पमेन्ट स्विचको माध्यमबाट प्रदान गर्नुपर्ने हुन्छ ।

यस्तो भुक्तानी अहिले डेबिट, क्रेडिट र प्रिपेड कार्ड लगायतका इलेक्ट्रोनिक कार्डमा मात्रै रहेकोमा अब क्यूआर कोड र अन्य विद्युतीय कारोबारमा समेत पाइने भएको छ । हाल कार्ड मार्फत वस्तु तथा सेवा खरिद गर्दा गरिने भुक्तानीको हकमा एकै पटक वा पटक–पटक गरी मासिक भारतीय रुपैयाँ १ लाखसम्म मात्र भुक्तानी गर्न सकिन्छ ।

सो कार्डबाट हुने भुक्तानी जस्तै क्यूआर र विद्युतीय माध्यमबाट पनि होटल, हस्पिटल (हस्पिटल र रिसर्च सेन्टर लगायत समेत) र औषधि पसलमा गरिने भुक्तानीको हकमा सीमा लागु हुने छैन ।

Comment


Related News

Latest News

Trending News