अपडेट 
२०८१ असार १५, शनिबार ०७:२८

राजीनामा माग भइरहेको बेला मुख्यमन्त्री सतीश कुमार सिंह विश्वासको मत लिने तयारी थालेका छन् ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले मुख्यमन्त्री सिंहले त्रुटिपूर्ण बजेट ल्याएको स्वीकार गरिसकेकाले तत्काल राजीनामा माग गरेका छन् । उनले राजीनामा माग गरिरहेकै बेला प्रदेशसभाबाट विश्वासको मतका लागि तयारी थालेपछि विभिन्न अड्कलबाजीसमेत भइरहेको छ ।

मधेश प्रदेशसभामा विश्वासको मत लिनु अघि मुख्यमन्त्री सिंहले बजेटमा त्रुटि रहेको भन्दै बजेट संशोधनका लागि सर्वदलीय बैठकबाट सर्वसम्मत निर्णय गर्दै विपक्षी दलहरुको साथसमेत खोज्ने दाउमा लागेका थिए । मुख्यमन्त्री सिंहले सबै दलको साथमा त्रुटिपूर्ण बजेट संशोधनको नाममा प्रदेशसभाबाट सर्वसम्मतरुपमा विश्वासको मत लिइ स्थिर मुख्यमन्त्रीका रुपमा स्थापित हुन खोजिरहेको समेत टिप्पणी हुन थालेको छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सिंहले यही असार २१ गते विश्वासको मत लिने आन्तरिक तयारी थालेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने आन्तरिक तयारी थालेको पुष्टि गरेको छ । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।

त्यसअनुसार मुख्यमन्त्री सिंहले २२ गतेभित्र सदनबाट विश्वासको मत लिइसक्नु पर्ने संविधानमा व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार यही २१ गते विश्वासको मत लिने सरकारले तयारी थालेको मुख्यमन्त्री सिंहले बताए । उनले भने, ‘ हामी विश्वासको मत लिने छौँ, यस अघि नै विश्वासको मत लिन्थ्यौँ, तर सत्तारुढ नेकपा एकीकृत समाजवादीको महाधिवेशन यसैबीचमा हुँदैछ ।

सो पार्टीका सांसदहरूले २० भन्दा अगाडि विश्वासको मत नलिन आग्रह गरेका छन्, त्यसकारण हामीले वहाँहरूको आग्रहलाई मध्यनजर गर्दै २१ गते विश्वासको मत लिने तयारी थालेका छौँ ।’ तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा बहुमत प्राप्त नगरेपछि मुख्यमन्त्री सिंहले बहुमत सांसदहरूको समर्थनमा प्रदेश सरकारमा नियुक्त भएका थिए । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले २५ जेठमा जनतम पार्टीको तर्फबाट सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

उनले सरकार टिकाउन ५४ जना प्रदेश सांसदहरूको समर्थन चाहिन्छ । बुहमत सिद्ध गर्दा मुख्यमन्त्री सिंहले आफ्नो पक्षमा ५५ जना सांसदहरूको समर्थन रहेको दाबी पेस प्रदेश प्रमुखको कार्यालयमा गरेका थिए । त्यस बखत मुख्यमन्त्री सिंहले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी र नेपाल संघीय समाजवादी पार्टी समर्थनसहित हस्ताक्षर पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए । हाल मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारमा मन्त्रीमण्डल पनि विस्तार गरिसकेका छन् ।

Comment


Related News

Latest News

Trending News