अपडेट 
२०८१ असार २०, बिहीबार ०७:०६

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लाई समर्थन गर्ने ठूला दल नेकपा एमालेले साथ छाडेको छ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने बुधबार निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन तयार नभएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुलाई राजीनामा गराएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँ राजनीतिक समिकरणबारे जानकारी गराएर मार्ग प्रशस्त गर्न आग्रह गरिए पनि उहाँले राजीनामा दिन तयार नभएपछि समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । ‘हामीले राष्ट्रिय सरकार निर्माणमा सहयोग पु¥याउन प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्ने समय दिएका थियौँ’ उनले भने, ‘ प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा हामी पुग्यौं ।’ मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

वर्तमान सरकारमा एमालेबाट ८ जना मन्त्री थिए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । कांग्रेसको समर्थनमा केपी शर्मा ओली नयाँ प्रधानमन्त्री बन्ने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएको थियो ।

सरकारबाट फिर्ता बोलाउनु अघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरुलाई आफ्नो बालकोट निवासमा बोलाएर सरकारबाट बाहिरिनका लागि बुधबार नै प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउन निर्देशन दिएका थिए । ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६( २) बमोजिम अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई दृष्टिगत गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडानमा छन् । उनले संसदमा विश्वासको मत लिने संवैधानिक अधिकार प्रयोग गर्ने माओवादी केन्द्रका नेताहरुले जनाएका छन् ।

डेढ वर्षको कार्यकालमा प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिइसकेका छन् । तीन पटक गठबन्धन फेरेका प्रचण्डले पाँचौ पटक विश्वासको मतमा पराजित हुने निश्चित छ । उनले माओवादीको ३२ जना र रास्वपाको २१ ज्ना गरी ५३ जनाको समर्थन मात्र पाउने सम्भावना छ । प्रधानमन्त्री प्रचण्ड स्वयम्ले राजिनामा नदिएपछि उनले ३० दिन भित्र विश्वासको मत लिने संवैधानिक बाटोमा जाने छन् । त्यसबाट उनी थप ३० दिन प्रधानमन्त्री रहने छन् । तर प्रतिनिधि सभाको बैठक चालु रहेकाले प्रधानमन्त्रीलाई संसदमा अप्ठ्यारो हुनेछ ।

सरकारबाट एमाले हटे पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले साथ नछाडने जनाएको छ । प्रधानमन्त्री रहेसम्म सरकारबाट राजीनामा नगर्ने मनस्थितिमा रहेको नेताहरुले जनाएका छन् । यता लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले कांग्रेस–एमाले गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News