अपडेट 
२०८१ असार २०, बिहीबार ०७:१०

संघीय सत्ता गठबन्धनमा भारी फेरबदल भएको बखत जनमत पार्टीले मधेश प्रदेशमा सरकारको नेतृत्वलाई निरन्तरता दिए मात्र कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने शर्त अघि सारेको छ ।

जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा.शरद सिंह यादवले मधेश प्रदेश सरकारमा कांग्रेस– एमाले गठबन्धनले सहयोग गरे केन्द्रीय गठबन्धनमा सहभागी हुने बताएको छ । गत जेठको २५ गते मधेश प्रदेशमा एमाले, माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमत पार्टीका सभासद सतीशकुमार सिंहको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले आउँदो २२ गते शनिबार विश्वासको मत लिने अन्तिम दिन हो । मुख्यमन्त्री सिंहलाई विश्वासको मत लिन सो दिन बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

संघीय गठबन्धनलाई सहयोग गर्न जनमत पार्टीले शर्त राखे पनि कांग्रेस र एमालेबीच मधेश प्रदेशको सवालमा छलफल नभएको कांग्रेसका एकजना पदाधिकारीले बताए । तर प्रवक्ता डा.यादवले जनमत पार्टीको प्राथमिकता मधेश सरकार भएकाले सोही अनुरूप केन्द्रमा सहमति हुने बताएका छन् । ‘हाम्रो प्राथमिकता मधेस प्रदेश हो’ उनले भने, मधेश सरकारमा सहयोग पाए हामी केन्द्रमा कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्छौ । सरकार गठन हुँदा मुख्यमन्त्री सिंहले ५४ जना सभासदको हस्ताक्षर पेश गरेका थिए । प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम पास भए पनि बजेट माथिको छलफल सुरु हुन सकेको छैन । मुख्यमन्त्री सिंहले बजेटमा व्यापक त्रुटि रहेकोले पुनर्लेखन गरिने सार्वजनिक रुपमा नै बताएका छन् । विपक्षी दलहरुले बजेट पुनर्लेखन गर्दा समानुपातिक हुनुपर्नेमा जोड दिएका छन् । सरकारको विपक्षमा ५० जना सभासद रहेका छन् । तर जनमतका प्रवक्ता डा. यादवले भने, ‘लामो समयसम्म जसपासहितका पुराना दलले मधेशलाई बन्धक बनाएकाले जनमत सरकारले लोकप्रिय र जनसेवाको काम गरेर देखाउने छ ।’ ‘हामी स्थायीत्वको पक्षधर हौँ’ उनले भने, ‘हामीलाई सिंगो देशको विकास गर्नुछ । अहिले मधेसमा हाम्रो नेतृत्वमा सरकार छ ।’ कांग्रेस–एमाले गठबन्धनसित प्रचण्ड बहुमत रहेको र लोसपा, राप्रपा, जसपा नेपालले समर्थन गर्ने जनाइसकेका छन् ।

मधेश प्रदेशमा पनि दुई दलको गठबन्धनसित ४६ सभासद रहेका छन् । लोसपा, जसपा नेपाल, जनमत मध्ये कुनै एउटाले मात्रै समर्थन गरे बहुमत पुग्ने अवस्था छ । मधेश सरकारमा सहभागी एमालेका एकजना नेताले जनाए अनुसार जनमतको सरकारले विश्वासको मत पाउनेमा शंका छ ।

Comment


Related News

Latest News

Trending News