अपडेट 
२०८१ असार २१, शुक्रबार ०७:०९

संघीय गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तन हुन लागेको बखत मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने छ । मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा बिहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ । नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । ‘संघीय निर्देशनपनि त्यस्तै आएको छ ।’ उनले भने, संघीय गठबन्धनको निर्देशन प्राप्त नभए सम्म यसै सरकारलाई समर्थन गरिने छ ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ती पार्टी सहभागी छ । सरकारलाई ५५ जना सभासदको समर्थन छ । मधेश प्रदेशमा सरकारको नेतृत्व लिन नेपाली कांग्रेसले लविंग सुरु गरिसकेको छ । कांग्रेसका सभासदहरु सरकारको नेतृत्वका लागि संघीय राजधानी काठमाण्डु पुगेका थिए ।

संघीय गठबन्धनकै अनुसार प्रदेशमा सरकार रहने भएपनि मधेश प्रदेशमा कांग्रेस र एमाले संसदीय दलका नेताहरुबीच भेंटवार्ता भएको छैन । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन । ‘संघीय गठबन्धनको निर्णय अनुसार नै प्रदेशमा सरकार बन्ने छ’ उनले भने, हाल सम्म पार्टीको केन्द्रीय निर्देशन प्राप्त नभएकाले वर्तमान गठबन्धन नै कायम छ ।

संघीय गठबन्धनमा परिवर्तन भई नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धनको सहमति भइसकेको छ । सरकारमा रहेका एमालेका आठ जना मन्त्रीले राजीनामा समेत दिइसकेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएर दूरगामी प्रभाव पर्ने कुनै कार्य नगर्न सरकारलाई सचेत समेत एमालेले गराएको छ । सुदुरपश्चिम प्रदेशमा नेकपा एसको नेतृत्वमा रहेको सरकारबाट एमाले फिर्ता भएको छ ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेश बाहेकका ६ वटा प्रदेशमा कांग्रेस र एमालेको प्रष्ट बहुमत रहेको छ । मधेश प्रदेशमा मधेश केन्द्रित एउटा दलको समर्थन अनिवार्य चाहिन्छ । संघीय गठबन्धनमा समावेश भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउँदा पदमुक्त भएकाले जसपाले मुख्यमन्त्रीमा स्वभाविक दाबी रहेको छ ।

Comment


Related News

Latest News

Trending News