अपडेट 
२०८१ असार २६, बुधबार १०:००

धनुषा जिल्लाको पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सडक विस्तार सम्झौता म्याद सकिए पनि पूरा काम हुन सकेको छैन ।

कमला नदीदेखि कञ्चनपुरसम्मको ८६ किलोमिटर लामो सो सडक विस्तार चार वर्ष अगाडि १५ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्कामार्फत थालिएको थियो । हालसम्म भौतिक प्रगति ५० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ । लामो समयदेखि सो खण्डको कामले गति नलिएको छ । पुरानो सडक भत्काएर छोड्दा सडक छेउछाउका बासिन्दालाई हिँड्न र सवारी साधन गुडाउन समस्या भएको सप्तरी कञ्चनपुरका रामचन्द्र मण्डलले गुनासो गरे ।

सडक निर्माणले पानीको निकास रोकिदा वर्षायाममा पानी घरभित्र पस्ने गरेको सिरहा मिर्चैयाका सीतानन्दन रायले बताए । राष्ट्रिय गौरवको योजना तथा एसियन हाइवेअन्तर्गत एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात र निर्यात बढाउने उद्देश्यले सडक विस्तार थालिएको छ । संयुक्त राष्ट्रसंघको पहलमा विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा सहभागी भएको २० वर्षपछि कमला कञ्चनपुरको ८६ किलोमिटर सडक विस्तार सुरु भएको थियो । कमला नदीदेखि कञ्चनपुरसम्म सडक चार तथा छ लेनमा विस्तार भइरहेको छ ।

सो सडकखण्डमा खनिएको खाल्डोले हिलाम्य भएपछि यातायातका साधनलाई ८६ किमी दूरी पार गर्न छदेखि आठ घण्टा लाग्ने गरेको छ । चाइना रेलवे इन्जिनियरिङ गु्रपले ठेक्का लिएको सडक विस्तार दुईवटा प्याकेजमा भइरहेको जनाइएको छ । एसियाली विकास बैंक (एडिबी)को ७२ प्रतिशत तथा नेपाल सरकारको २८ प्रतिशत लगानीमा सडक विस्तार थालिएको छ । निर्माण कम्पनी तथा प्राविधिक दुवै पक्षबीचको लापार्वाहीले विस्तार कार्य ढिलाइ भएको स्थानीय सुरेन्द्र चौधरीको गुनासो छ ।

सन् २०२० अक्टोबर २९ देखि सडक निर्माण सुरु भई २०२३ अक्टोबरमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । सरकारले पुनः २०२४ डिसेम्बर २८ सम्मका लागि १४ महिना म्याद थप गरेको छ ।

Comment


Related News

Latest News

Trending News