अपडेट 
२०८१ असार २६, बुधबार १४:५७

अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म बाढीपहिरोमा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले बताए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । उक्त समयमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए ।

वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ ।

यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News