अपडेट 
२०८१ असार २८, शुक्रबार ०९:२२

जनकपुरधाम उपमहानगरपालिका– १७ का रामआशिष यादव साउदीमा नेपाली साथीको हत्याको अभियोगबाट उन्मुक्ति पाउने भएका छन् ।

उनले साउदी अरबमा नेपाली साथीको हत्या गरेको अभियोगमा फाँसीको सजाय पाएका थिए । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका यादवले सँगै एउटै कोठामा बस्ने रुपन्देहीको कञ्चन गाउँपालिका– ४ का दुर्गाप्रसाद शर्मालाई विवादको क्रममा छुरा प्रहार गरी हत्या गरेका थिए । दुर्गाप्रसादको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही हत्यामा रामआशिषलाई ५ वर्षको जेल सजाय तोकिएको थियो । ५ वर्षपछि दुवै जनाको परिवारको बीचमा ब्लड मनीमा सम्झौता नभएमा अन्तिम विकल्प फाँसीमा जाने अदालतले फैसला गरेको थियो । अदालतको निर्णय कन्सुलर विभाग हुँदै सोको जानकारी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पनि प्राप्त भयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यादवलाई बचाउन सकिन्छ कि भनेर तदारुकता देखाए । रेनुकुमारीका मामा प्रभु यादव पनि भाञ्जा ज्वाइँ रामआशिषलाई माफीको आशासहित रुपन्देही पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी अर्याल र प्रभु मृतक दुर्गाप्रसाद शर्माकी श्रीमती सीता शर्मासित माफीको अपेक्षासहित घर पुगे । सुरुमा पीडित सीताले बेवास्ता गर्दै आए पनि तीन महिनापछि प्रमुख जिल्ला अधिकारी अर्यालको पहलमा भने कुरा मिलेको छ । फाँसी सजायबाट जोगाउनका लागि कञ्चन गाउँपालिकाका अध्यक्ष, जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईंलगायतको लगातारको पहल पछि पीडित सीताले ५० लाख रुपैयाँ ब्लड मनी लिएर आममाफी दिन तयार भएकी छन् ।

सन् २०१८ मा साउदी अरबमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ घर भएका रामआशिष यादव र रुपन्देहीको कञ्चन गाउँपालिका– ४ का दुर्गाप्रसाद शर्मा एउटै कम्पनीमा काम गर्दै आएका थिए । दुवै जनाको कोठा पनि एउटै थियो । सन् २०१८ को अक्टोबर ६ तारिखमा कोठामै खानपान गरेर रमाइरहेकै बेलामा सामान्य विवादमा यादवले दुर्गालाई छुरा प्रहार गर्दा उनको घटनास्थलमा मृत्यु भएको थियो ।

साउदीको ताबुक क्रिमिनल कोर्टले सन् २०२० को डिसेम्बर २० मा हत्या गरेको प्रमाणित गर्दै यादवलाई तत्कालको लागि ५ वर्ष कैद सजायको फैसला गरेको थियो । ५ वर्षपछि दुवै जनाको परिवार बीचमा ब्लड मनीमा सम्झौता नभएमा अन्तिममा फाँसी हुने समेत फैसलमा किटान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News