अपडेट 
२०८१ असार ३०, आईतवार ०७:५६

राष्ट्रले आइतबार नयाँ सरकार पाउने भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नयाँ सरकार बनाउन दाबी गरेअनुसार आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् ।

शुक्रबार राष्ट्रपति पौडेलले आइतबार साँझ पाँच बजेसम्मको समय सीमा तोकेर संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । त्यसपछि शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर सरकार बनाउने दाबी पेस गरेका थिए ।

राष्ट्रपति पौडेलले आफूले दिएको समय सीमापछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले सरकार गठन गर्न आह्वान गरेको समयसीमा सकिएपछि प्रधानमन्त्रीमा नियुक्त गरिने र शपथको प्रक्रिया अघि बढाइने छ । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएपछि शपथ ग्रहणको कार्यक्रम सोमबार हुने भएको छ । प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले सोमबार नै मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।

प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष ओलीले पनि पार्टी भित्र मन्त्री बनाउने विषयमा गहन छलफल गरिरहेका छन् । ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिने स्रोतले जनाएको छ । सोमबार नै अन्य मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको जनाइएको छ । स्रोतले भने, ‘सम्भवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन हुन्छ, त्यसैको तयारी भइरहेको छ ।’ शनिबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट मन्त्री चयनका लागि मापदण्ड बनाइएको छ । योगदान र योग्यतालाई मुख्य आधार बनाइ समावेशी र प्रादेशिक सन्तुलन मिलाउने कांग्रेसले निर्णय गर्ने जनाइएको छ ।

ओली निकट एक नेताका अनुसार सरकारमा सहभागी भएका दुई ठूला दलहरुको सांसद संख्याका आधारमा मन्त्री भागवण्डा गर्ने तयारी रहेको दाबी गरेका छन् । ९/१० जना सांसद बराबर एक मन्त्री बनाउने गरी छलफल भएको उनले बताउँदै यसो हुँदा कांग्रेस गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय पाउने गरी छलफल सकारात्मकरुपमा अघि बढिरहेको छ । अन्य साना दलका हकमा भने चार सांसद बराबर एक मन्त्री दिने गरी ओलीले प्रस्ताव गरेको नेताको भनाइ छ ।

मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।

लोसपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जनाएका छन् । सो बैठकबाट बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई समेत आग्रह गरेको छ ।

बैठकबाट पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी कार्यलाई चुस्त दुरुस्त बनाउनका लागि सरकारको ध्यानाकर्षणसमेत गराएको उनले बताए ।

 

Comment


Related News

Latest News

Trending News