अपडेट 
२०८१ असार ३१, सोमबार १२:२०

सिमलताल दुर्घटनामा परि त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार घटनास्थल भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् ।

चितवन प्रहरीले भेटिएका शवहरू सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू हुनसक्ने अनुमान गरेको छ ।

शव भेटिएकाहरूमध्ये अहिलेसम्म सात जनाको मात्रै सनाखत भएको छ । उनीहरूको आफन्तले शव जिम्मा पनि लिइसकेका छन् । तर, पाँच जनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगर चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । भेटिएका शव मध्ये चार चार पुरुष र एक महिलाको शवको पहिचान खुल्न सकेको छैन । घटनास्थल सिमलताभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्म ती शव भेटेको हो ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बसलाई भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा खसाएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ निकालेको विवरण अनुसार दुवै बसको चलानी र आफन्तले दिएको विवरण गरी ६५ जना सवार थिए ।

Comment


Related News

Latest News

Trending News