अपडेट 
२०८१ श्रावण २, बुधबार ११:५०

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आजदेखि तीन दिनसम्म नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरू र बबई तथा पश्चिम राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्तै महाकाली र पश्चिम सेती नदीको जलसतह सतर्कता तह भन्दा तलै रहे पनि उल्लेख्य बढ्ने पूर्वानुमान रहेको महशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दर्चुला, ईलाम, झापा, सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने धेरै स–साना नदीहरुमा बहाव बढ्ने सम्भावना छ ।

केही स–साना नदीमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकोले आसपासका क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको  सुझाव छ ।

यसैबीच आज दिउँसो गण्डकी र कर्णालीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै रातिदेखि सुदूरपश्चिम  प्रदेशमा पनि ठुलो पानी पर्ने सम्भावना छ ।  मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाई छ ।

 

Comment


Related News

Latest News

Trending News