अपडेट 
२०८१ श्रावण ४, शुक्रबार ०८:२०

रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

जिल्लाको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ स्थित कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि हुने क्रममा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।

केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए । सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो । जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका छन् । मेला भर्ने क्रममा हजारौँ मुस्लिम समुदायको उपस्थिति रहेको थियो । स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी टोली परिचालन गरिएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर समेत गरेका थिए ।

त्यसपछि स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ । बिहीबार साँझ साढे छ बजेदेखि करिब आठ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रहेको थियो । नेपाल प्रहरीका रौतहट प्रहरी उपरीक्षक दिलीप घिमिरे र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिक्रम हुमागाईँको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालित भएका थिए । ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका दुई जना गरी १९ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइते भएका प्रहरीको स्वास्थ उपचारपछि जिप्रका रौतहट पठाइएको छ । यता अहिले भने अवस्था सामान्य बनेको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News