अपडेट 
२०८१ श्रावण ८, मंगलवार ०८:०५

सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमा ८० वर्षीय पूर्वमन्त्री रायको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।

घरमा एक्लै सुतेको बेला राति १ बजेतर्फ उखु काट्ने फर्साले टाउकोमा प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहसहितको प्रहरी टोली पुगेर अनुसन्धान समेत थालेका छन् ।

यता पूर्वमन्त्री रायको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताए । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका पूर्वमन्त्री राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगरस्थित घरमा बस्दै आएका थिए ।

पूर्वमन्त्री राय पत्नीसहितका परिवारजन भने काठमाण्डुमा बस्दै आएको प्रहरीले जनाएको छ । उनी एकजना आफन्तसमेत रहेका कामदार युवकसँगै घरमा बस्दै आएका थिए । कामदार रामउजेन रायले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेपछि मलंगवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । कुराकानी गर्न भन्दै गएराति ९ बजेतर्फ अपरिचित तीन जना युवक घरमा आएपछि पूर्वमन्त्री रायले कामदार रामउजेनलाई छतमाथि गएर सुत्न भनेका थिए । उनले गएराति १ बजेतर्फ उठेर हेर्दा पूर्वमन्त्री रायलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पूर्वमन्त्री रायको हत्या अनुसन्धानमा पक्राउ परेका रामउजेनले दिउँसो मलंगवा नगरपालिका– ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएको अनुसन्धानबाट देखिएको छ ।

कामदार रामउजेनले प्रहरीलाई बताएअनुसार तीन जना अपरिचित युवकहरु भेट्न आउँदा पूर्वमन्त्री रायले आफूलाई बाहिर गएर बस्न भनेपछि आफू कोठाको छतमा गएर सुतेको र गएराति १ बजेतर्फ पुनः कोठामा गएर हेर्दा उनको हत्या भएको अवस्थामा देखेँ । स्थानीयका अनुसार केही व्व्यक्तिले जग्गा सम्बन्धी विवादका कारण भन्दै पूर्वमन्त्री रायसंग कुराकानी गर्न आउने नाममा हत्या गरेको आशंका गरेका छन् । त्यस्तै केही व्यक्तिले हिजो पूर्वमन्त्री रायले मलंगवास्थित बैंकबाट एक लाख पचास हजार रुपैयाँ झिकेर रत्नपुर आएका थिए । सो पैसा लुट्नका लागि हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।

पूर्वमन्त्री राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही– ३ बाट निर्वाचित भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए । त्यतिबेला उनी राप्रपाबाट निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News