अपडेट 
२०८१ श्रावण ८, मंगलवार ०८:१५

त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा चन्द्रकिशोर राय यादव असार २८ देखि नै कुरिबस्छन् । घरी भेटिएका शवमा सालो छ कि भनेर भरतपुर अस्पताल पनि उनी धाउँछन् ।

भारतबाट समेत गोताखोरसहितको १२ जनाको टोली र नेपालको सशस्त्र प्रहरीको तालिम प्राप्त टोली, नेपाली सेना, नेपाल प्रहरी मिलेर खोजी गरिरहेका छन्, तर पछिल्लो तीन दिनयता खोजी टोलीले न बस न त हराइरहेका यात्रु, केही भेट्न सकेको छैन । सरकारले भेटिने नभेटिने जे भन्छन् त्यही मानेर घर फर्किने निर्णयमा चन्द्रकिशोरपुगेका छन् ।

घटनाको १२औं दिनसम्म खोज्दा त्रिशूलीमा हराइरहेका ६२ मध्ये २५ जनाको शव भेटिएको छ । बसको नामोनिशान पनि भेटिएको छैन । बाँकी ३७ जनाको पनि अत्तोपत्तो छैन । त्रिशूली र नारायणीमा पानीको बहाव उच्च छ । सीमलतालबाट लेदोसहितको पहिरोले बगाएकै दिनदेखि खोजी कार्य चलिरहेको भए पनि बससँग सम्बन्धित सामग्री एउटा पर्दाबाहेक खोजी टोलीले केही भेटाउन सकेको छैन ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘भारतबाट आएका १२ जना र नेपालका सुरक्षाकर्मीको टोलीसहित गर्दा करिब ५०० जना उद्धार टोली नदी र किनारामा खोजिरहेको छ, तर तीन दिनदेखि केही भेट्न नसक्दा हराइरहेका यात्रु भेटिने सम्भावना पनि कम भइरहेको हो कि भन्ने लाग्न थालेको छ ।’ तालिम प्राप्त टोली र प्रविधिसमेत हुँदा तीन दिनदेखि केही पनि नभेटिएपछि कति दिनसम्म खोजी गर्ने भन्ने पनि प्रश्न उठ्न थालिसकेको छ । भएसम्म आफन्तको शवसम्म भए पनि पाइए हुने नभए सरकारबाट सम्भावना छैन भन्ने जवाफ पाए आफन्तको सद्गत गर्न हुन्थ्यो भन्ने हराइरहेका यात्रुका आफन्तले भन्न थालिसकेका छन् । तर खोजी कार्य कहिलेसम्म हुन्छ भन्ने जवाफ स्थानीय प्रशासनले समेत दिन सकेको छैन ।

सरकारको अनुरोधमा केही सामग्री पानीमुनि देखिए रेकर्ड गरेर पछि हेर्न समेत सकिने आधुनिक प्रविधि सोनार क्यामरा लिएर आएका भारतीय टोली सात दिनसम्म खोजीमा संलग्न हुने जनाइएको छ । उनीहरु खोजीको लागि चितवन आएको तीन दिन भए पनि खोजी सुरु आइतबार देखि गरेका थिए । तर पानीको बहाव अत्यधिक भएको कारण खोजीमा समस्या भएको उनीहरुले पनि बताउँदै आएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी यादवले यात्रुका आफन्त शवसम्म भए पनि हुन्थ्यो भनिरहेको बताउँछन् । उनले अबको चार दिन अझै भारतीय टोलीसहित खोजी गर्ने त्यसपछि भने मन्त्रालयसँग छलफल गरेरमात्रै निर्णय गर्न सकिने बताए । असार २७ गते भरतपुर– २ ९ सीमलतालमा माथिबाट खसेको लेदोसहितको पहिरोले काठमाण्डुबाट गौर जाँदै गरेको गणपती यातायातको ३६ यात्रु बोकेको बस र वीरगञ्जबाट काठमाण्डु जाँदै गरेको २६ यात्रु बोकेको एञ्जल डिलक्स यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो ।

गणपती यातायातमा सवार तीन जनाले भने त्रिशूलीमा पौडिएर ज्यान जोगाएका थिए । बाँकी त्रिशूलीमा हराइरहेका २५ जनाको शव नारायणी किनार, भारतको बिहारको पश्चिम चम्पारणको नदी किनारका विभिन्न स्थानबाट भेटिएको छ । भेटिएकामध्ये दुई जनाको सोमबारसम्म पहिचान हनु नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News