अपडेट 
२०८१ श्रावण १२, शनिबार १५:१४

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उनको जिकिर थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए ।

कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकि रहेको उनको भनाई थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

उनले भने–‘अहिलेको कम्युनिष्ट साथीहरु नरिसाउनु होला । अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिदैन । त्यो युग अहिले आएको छ । कुनैपनि काम बाँकि नछोडने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, काँग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । के को लागि भन्दाखेरी त्यहाँ बैचारिक अन्यौलता, आर्दश र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकि रहदो रहेछ । र त्यो चाँही सबैमा होइन । त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्टयाउनै गाह्रो छ । तर जो सही बाटोमा हुनुहुन्छ, उहाँहरुले दुःख पाईराख्नु भएको छ । ती सुविधा, अवसरबाट बञ्चित भएर दुःख पाइराख्नुभएको छ । अव त्यो अवस्था देखिएको छ ।’

अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबी समेत गरे ।

Comment


Related News

Latest News

Trending News