अपडेट 
२०८१ श्रावण १३, आईतवार १८:४३

सिमलताल दुर्घटनाका बेपत्ता यात्रु तथा बस खोज्न आएका भारतीय उद्धार टोली आज फर्किएको छ ।

टोलीलाई जिल्ला सुरक्षा समिति चितवनले धन्यवाद दिएर बिदाई गरेको हो । असार २८ गते सिमलतालमा लेदोसहितको बाढीले गुडिरहेको दुई बस बगाएर त्रिशूलीको भेलमा पुर्‍याएको थियो । दुईवटै बसमा गरेर ६२ जना यात्रु बेपत्ता भएका थिए ।

नेपालको उद्धार तथा खोज टोलीले बस र सबै यात्रु नभेटिएपछि थप सहयोगका लागि नेपाल सरकारको अनुरोधमा भारतबाट तालिमप्राप्त टोली आधुनिक उपकरणसहित आएका थिए । ७ दिनका लागि आएका उनीहरूले पनि २ दिनबढी काम गर्दा केही हात नलागेपछि फर्किएका छन् ।

त्रिशूलीमा डुबेका दुई बस भेटिन्छन् कि भनेर १४ र १९ किलोको चुम्बक प्रयोग गरेर हिजो पनि खोजी गरिएको थियो । खोजीमा प्रयोग गरिएको १९ किलोको चुम्बक नै बगाइदियो । त्यसपछि खोजी रोकेका ४ जना गोताखोरसहितका १२ जना भारतीय उद्धार टोलीलाई आज जिल्ला सुरक्षा समितिले बैठक बसेर छलफल गरी बिदाई गरेका छन् ।

चितवनका सीडिओ इन्द्रदेव यादवले उनीहरूलाई बिदाई गरेपछि अब फरक तरिकाले खोजी गर्ने बताए । हालसम्म सनाखत भएका र फेला पार्न बाँकी मानिसलाई समेत मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम राहत उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कागजात पठाउने जानकारी दिए ।

हालसम्म भेटिएका शवमध्ये १९ जनाको मात्रै सनाखत भएको छ । बसमा सवार ६५ मध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए । बाँकी ४३ जना यात्रुको अवस्था अझसम्म पनि पत्ता लाग्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News