सत्तारुढ नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री रघुजी पन्तले तराईमा हुने आपराधिक घटनामा राजनीतिक दलका मानिसहरू नै संलग्न रहेको आरोप लगाएका छन् ।
बुधवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो आरोप लगाएका छन् । तराईका नेताहरुले कुनै न कुनै रुपमा त्यहाँ हुने आपराधिक गतिविधिमा सम्बन्ध राखेका कारण प्रहरीले त्यहाँको अपराध नियन्त्रण गर्न नसकेको सांसद पन्तले जिकिर गरे । उनले सबै राजनीतिक दलका मानिसहरुको तराईमा आपराधिक गतिविधिमा सम्बन्ध भएकाले त्यहाँको अपराध नियन्त्रण गर्न सरकारले सो विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।
सांसद पन्तले खुला सीमानाको नियमनका कडाई गर्नसके पनि नेपालको तराई क्षेत्रमा हुने आपराधिक गतिविधिमा आधा घटाउन सकिने दावीसमेत गरे । उनले भने, ‘हाम्रो तराईतर्फको असुरक्षाको मूल कारण भनेको खुला सिमाना हो । त्यसकारण तराईको अपराध नियन्त्रण गर्ने हो भने खुला सिमानालाई नियमन गर्न शुरु गरौँ, ’ उनले भने, ‘अब यो त प्रहरीको कन्ट्रोलमा छैन । तर त्यस अगाडि तराईका पोलिटिसियनहरुको कुनै न कुनै त्यहाँ हुने नकारात्मक गतिविधिसँग हामी सम्बन्ध पाउँछौँ, यो दल, त्यो दल नभन्नुस् । तराईको यो समस्या पनि छ । अपराधका घटनामा पोलिटिकल मान्छेहरु इन्भल्भ भएपछि पुलिसलाई गाली गरेर रोकिन्न ।’ पूर्वमन्त्रीसमेत रहेका पन्तले सुरक्षाकर्मीलाई अत्यावश्यक वस्तुको अभाव हुन नदिन पनि सरकारलाई सचेत गराए ।