अपडेट 
२०८१ श्रावण २१, सोमबार ०७:०९

जत स हमरा बेसी अपेक्षा रहए ओइजन हमरा ठइग लेलक, हमर अप्पन खटलहा पैसा नहि देलक ……।

संगीत साधक गुरुदेव कामतको भाइरल भइरहेको भिडियोको एउटा अंश हो । जसमा कामतको सांगीतिक यात्राका व्यथा , कटु सत्य सन्निहित छ । मृगौला सम्बन्धी रोगले आक्रान्त , उपचारका लागि आर्थिक संकट , छटपटीको क्रन्दन हो यो क्लीप । साधक कामतलाई स्वाभिमानी, सरल , सभ्य , अर्थपूर्ण , गम्भीर एवं सन्देशमूलक गायक रुपमा मैले चिनेको छु । त्यो धरती जहाँबाट आफ्नो संगीतको उत्कण्ठालाई साकार पार्न प्रयास गरे , त्यसको साक्षी म पनि रहेको छु ।

कामतको सांगीतिक आकांक्षालाई शास्त्रीय पद्धतिअनुसार संजीवनी दिने सांगीतिक गुरु नथुनी मिझार ( मुरलीधरका बुबां ) को शिष्य म पनि भएकाले कामतको आरोह अवरोहलाई नजिकबाट नियाँलेको छु । अलंकार ,आलाप , वादी , संवादी स्वरहरुका साथै गायनका हर्कत ,ताल तराना , बोल बन्दिसका ज्ञान र अभ्यास र उत्सव , रामलीला , थिएटरमै भविष्यको रेखा कोरि रहेका बखत गायक एवं संगीतकार भरत लामाले कामतलाई काठमाण्डु ल्याइ आफ्नै डेरामा राखी प्रतियोगितामा सहभागिता र रोजगारीको चाँजोपाँजो मिलाएको दिनको पनि म साक्षी छु ।

रेडियो नेपालको बार्षिकोत्सवका अवसरमा कामतले भरत लामाकै रचना प्रस्तुत गरी आधुनिक गीत गायनतर्फ दोस्रो र शास्त्रीय गीत गायनतर्फ प्रथम भइ इतिहास कायम गरेको क्षणमा स्वागत अभिनन्दन गरेको दिन स्मृतिका पानामा अंकित छ । यो बडप्पनका लागि होइन , तराई मधेशका प्रतिभाले भोग्नु परेको उपेक्षाको सन्दर्भ सबैले जानुन भन्ने ध्येय मात्र हो । यस्तोमा पनि कामतको मन मस्तिष्कमा संगीतको सप्तस्वर नै गुन्जि रहयो , यसका लागि विभिन्न उत्सव , विवाह , व्रतबन्ध , सरस्वतीपूजा , स्कूलको वार्षिकोत्सव ,होटलमा गायन र स्वयमु गुरुकुलको स्थापना गरी संगीतको अग्रगामी छलांग लगाएको र यसको पृष्ठभूमिमा कामत गायनसँगै नाचेका , प्रहसन पनि गरेका थिए ।

कामत रामलीला , कृष्णचरित्र , सलहेस नटु नाच , झिझिया आदिमा भूमिका पनि निर्वाह गरे । नारीको परिधानमा नृत्यसम्मको यात्रा पनि उनको कलायात्रामा जोडिएको छ । हुन त गुरु नथुनी मिझार गुरुदेव कामत स्वर पकडमा गम्भीर नहुँदा बेसुरा हुने चिन्ता व्यक्त गर्थे तर अभ्यासले तारसप्तक सबै स्वरहरुमा आफ्ना गला, मुर्की दिन सक्ने क्षमता प्रदर्शन गरी गुरुवरलाई चिन्ताबाट मुक्त गरेका थिए ।

साधकहरु आत्मज्योतिका सहायताले अतीव सूक्ष्मदर्शी बन्छन अनि अन्तरमा इन्द्रिवृत्ति समूहको उत्पति , स्थिति र परिवर्तनका अतीव सूक्ष्म कारण समूहलाई प्रत्यक्ष गर्छन । त्यसपछि उनीहरुलाई द्रष्टा स्वरुपमा अवस्थान गर्छन । त्यसमा पनि शास्त्रीय संगीतका साधकका लागि सुर तालको ज्ञान र श्रोताको ह्दयलाई नियन्त्रण गर्न सक्ने अभिव्यञ्जनका साथ धेर्य र आँटको यात्रा सहज हुँदेन ।

संगीत साधना देखि ,गीत सिर्जना , संगीत तयार गर्न सक्ने सामथ्र्य र सीपको यात्रामा साधकको संघर्ष , अभ्यास , आर्थिक अवस्था र मनोदशाको गाथा कल्पनाभन्दा बाहिरको कुरा हुन्छ । गोरटोमा सफलता र असफलताका आरोह अवरोहमाझ स्थापित हुनु आफैमा दुरुह र वेदनामय दिनहरुको एक–एक पलको अध्याय हुन् । कलामा तुलना हुँदैन , हर कलाले अर्कोलाई कम्प्लिमेन्ट गर्छ, अनुपूरण गर्छ । विलक्षण संगीत उपासकको श्रेयको परिदृश्यमा कष्टको कहर साधकको दिनचर्या बनेकोप्रति मानवीय संवेग देखा नपर्नु चिन्तनीय विषय हो । यो सत्य बडो क्रूर छ । यसलाई आरोप , उपेक्षा , निष्ठुरको विषय बन्न दिनु हुँदैन । नियत पवित्र हुनुपर्छ । सदाशयता हुनुपर्छ ।

उनका सांगीतिक स्वरले मानवीय संवेदना ,जीवन दर्शन पोखिरहेको छ तर, उनी स्वयम् आर्थिक संकटमा परी मृगौला प्रत्यारोपणका लागि हार गुहार , याचना गर्दै त्यसकै अभावमा मृत्युवरण गर्न पुगेका छन् । कामतको अर्थपूर्ण गायन ठूलो सम्पति हो । कामत संगीत क्षेत्रको सम्मानित नाम , गायक , संगीतकार तथा संगीत गुरु हुन् । शास्त्रीय संगीतमा उच्च नाम बनाएका एउटा सर्जक बेसहारा भए दुर्भाग्य , विडम्बना हो । । शास्त्रीय संगीतमा जीवन समर्पित गरेका साधकलाई बेसहारा बनाउनु हुँदैन्थ्यो ।

उपचारमा सहयोगका लागि संघदेखि प्रदेश सरकारको ध्यान जानु पर्ने थियो । तर कामत इहलीला समाप्त पछि मघेश प्रज्ञा प्रतिष्ठानद्वारा ठगिएको भिडियो क्लीपले यत्रतत्र तरंग उत्पन्न गरेको छ । क्लीपमा उठाइएका मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राभभरोस कापडिले संवादमार्फत तय गरेको पारिश्रमिक र पारिश्रमिकले उपचार खर्चमा सघाउ पुग्नेदेखि नयाँ जीवन पाउने अभिलाषामा बज्रपात र ठगिएको चित्कार छ । संयोग नै भन्नु पर्ला प्रतिष्ठानले ओयोजना गरेको त्यो कार्यक्रमको उद्घोषण गर्ने अवसर मैलै नै पाएको थिएँ ।

पुरानो चिनजान र सांगीतिक संगत गरेको कारण उनीसँग सांगीतिक पारिवारिक सदस्यझै कुराकानी हुन्थ्यो र त्यो दिन पनि कुराकानी हुँदा अध्यक्ष कापडि धैरे दिनदेखि प्रयासरत रहेकाले उनको इच्छा पूरा हुन गइरहेकोमा खुशी व्यक्त गरेका थिए , साधक कामतले जनकपुरधाममा कार्यक्रम गर्न पाएकोमा आफ्नो सांगीतिक जीवन नै सार्थक र धन्य भएको बताएका थिए । कुराकानीका क्रममा सांगीतिक टिम नआएको जिज्ञासामा अध्यक्ष कापडिले कार्यक्रम बापत एक लाख दिने भनेकाले आफू तवलावादकलाई मात्र लिएर आएको बताए ।

अहिले प्रतिष्ठानका अध्यक्ष कापडिले गुरुदेव कामतसँग त्यस्तो कुनै कुराकानी , सहमति नभएको बुँदा राख्दै कामतको भनाइलाई असत्य साबित गर्न खोजेका छन् । प्रश्न असंख्य उत्पन्न हुन्छ , के गायक गुरुदेव कामत एकल प्रस्तुतिका भोका थिए ? कार्यक्रमको आयोजना गर्ने संस्थाले बिना स्वीकृत कार्यक्रमको आयोजना गरे ? त्यो कार्यक्रमका नाममा भएको अन्य खर्चको भुक्तानी भयो कि भएन ? आदि….. आदि । यो सबाल कामत र कापडिको मानमर्दनका लागि होइन , यो सबाल प्रतिष्ठानको अपराधसँग सम्त्रन्धित छ , बिमार सर्जकलाई चार घण्टासम्म कार्यक्रम प्रस्तुत गर्न लगाउने तर पारिश्रमिक दिने सबालमा सर्जकमाथि नै भ्रम , आशंका उत्पन्न गराउने संस्थाद्वारा जारी विज्ञप्ति मानवीय संवेदना शून्यको बोधक मात्र रहेको छ ।

अतः क्लीपको अन्त्यमा गुरुदेव कामतले भनेका “ ओकरा सँ बडका नटबरलाल केओ छैहे नहि ,ई संस्थाके सेहो खतम क दैत ” वाक्यांशको पीडा , चिन्ताप्रति प्रदेश सरकारले ध्यान दिइ कारवाही प्रक्रियातर्फ उन्मुख भएमा मात्र उनको क्रन्दन ,आवेगको शमन र सच्चा श्रद्धाञ्जली हुनेछ ।

Comment


Related News

Latest News

Trending News