अपडेट 
२०८१ श्रावण २२, मंगलवार ०८:४४

मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले मधेश प्रदेशमा शिक्षास्तर घट्नुमा हामी स्वयम् दोषी रहेको बताएकी छन् ।

सोमबार जनकपुरधाममा गुणस्तरीय शिक्षा रणनीतिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री तिवारीले हामी र यहाँका अभिभावकले नै परीक्षालाई अमर्यादित बनाउने कार्यमा संलग्न रहेकाले हामीले शिक्षा नीतिमा सुधार ल्याई मधेशको शैक्षिक अवस्था र वातावरण सुधार गर्नुपर्ने आवश्यक रहेको बताइन् । उनले यही साउन २३ गतेदेखि सुरु हुन लागेको एसइइको पूरक (गे्रडवृद्धि) परीक्षालाई मर्यादित बनाइने बताइन् ।

साउन ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारहरूलाई जिम्मेवारी दिएको स्मरण गर्दै उनले पूरक परीक्षालाई मर्यादित बनाउने तर्फ आफू लाग्ने बताइन् । मधेश प्रदेश सरकारले समग्र बजेट विनियोजनको पाँच प्रतिशत मात्रै शिक्षाका लागि विनियोजन गरिएको भए पनि यही बजेट भित्र रहेर मधेशको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आफू लागि पर्ने बताइन् । उनले शिक्षा क्षेत्रमा बेथिति व्याप्त रहेको भन्दै शिक्षा क्षेत्र सुधारका लागि संघ र स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताइन् ।

संघीय र स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्न समय लाग्ने हुँदा प्रदेश सरकारले आफैले गर्न सक्ने काम तत्काल अघि बढाइने उनको भनाइ थियो । उनले आफू सेवासुविधाका लागि मन्त्रालयमा नबसेर उपलब्ध स्रोत साधनबाट काम गर्न खोजेको समेत बताइन् । शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले मधेशमा नीतिगत रूपमा शिक्षामा विभेद रहेको बताए ।

Comment


Related News

Latest News

Trending News