अपडेट 
२०८१ श्रावण २३, बुधबार ०७:५५

चितवनको सीमलतालमा तीन साताअघि भएको बस दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाको परिवारलाई राहतस्वरुप दुई लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

सीमलताल दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै सो सिफारिस गरिएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले दुर्घटनास्थलको अनुगमन तथा अध्ययन, दुर्घटनामा भएका लापरवाही, सडक सुरक्षामा जोडिएका अन्य निकाय, दुर्घटना हुन नदिन अपनाउनुपर्ने सावधानी, मृत्यु भएका र घाइतेलाई दिने राहत एवं बीमालगायतका विषय समेटेर तयार पारिएको सो प्रतिवेदन मंगलबार कार्यदलले गृहमन्त्री रमेश लेखकलाई बुझाएको छ ।

गत असार २८ गते सिमलताल पहिरोमा लेदोले बगाउँदा दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । असार ३१ मा गृहमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेलगत्तै रमेश लेखकले कार्यदल गठन गरेका थिए । गृहमन्त्री लेखकले प्रतिवेदन बुझ्दै कार्यदलको सिफारिस र सुझावलाई अक्षरशः पालना गर्ने र प्रतिवेदनले अन्य निकायको समेत ध्यानाकर्षण गराएकाले सम्बन्धित निकायमा पनि प्रतिवेदन कार्यान्वयनका लागि पठाइने बताए ।

गृहसचिव एकनारायण अर्यालले आगामी दिनमा सडकमा सवारीसाधनको कागजपत्र, यात्रुको विवरण र चालकको अवस्थाका बारेमा कडाइका साथ चेकजाँच हुने बताए । गत असार २८ गते बिहान काठमाण्डुबाट रौतहटको गौर गइरहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डु आइरहेको एञ्जल डिलक्स बस सिमलतालमा बाढीसहित आएको लेदोले बगाएर त्रिशूली नदीमा खसेको थियो । दुवै बसमा सवार चालकदलका सदस्यसहित ६५ जना यात्रुमध्ये तीनजनाले हामफालेर ज्यान जोगाए पनि ६२ यात्रु भने बेपत्ता भएका थिए ।

नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलगायतको सहयोगमा २४ वटा शव फेला परेको थियो । जसमध्ये १९ जनाको सनाखत भए पनि अन्यको हुन सकेको छैन । अन्य यात्रु र बस अझैसम्म बेपत्ता नै छन् । सो कार्यदलले सडक सुरक्षासम्बन्धी एकीकृत सुरक्षा प्रणाली विकास नभएकाले सडकको अवस्थाबारे सवारी चालक र सुरक्षा निकायले पूर्वानुमान गर्न नसक्दा दुर्घटना भएको प्रतिवेदनमा आँैल्याएको छ । गत असार ८ गते नै सीमलतालमा थुनिएको कल्भर्ट समयमै सफा नगर्दा थप डेब्रिजका कारण बसलाई त्रिशूलीमा बगाएको कार्यदलको निष्कर्ष छ ।

सो कार्यदलले स्थानीय तहले सडक बनाउँदा निस्किएको माटो व्यवस्थापन नगरी भीरबाट फालिदिँदा थुप्रिएर बसेको र वर्षातका कारण तल बगाएर ल्याउँदा बसलाई धकेलेको प्रतिवेदनमा उल्लेख छ । सुरक्षाका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको सीमलताल सडकमा ठूलो वर्षा भइरहेको र रातको समयमा सवारी चलाउँदा चालकले ‘पहिला सुरक्षा’ भन्ने मूल कुरामा ध्यान नदिई असावधानीपूर्ण चलाउँदा दुर्घटना भएको निष्कर्ष कार्यदलको छ । सो कार्यदलले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको समेत ध्यानाकर्षण गराउँदै त्रिशूलीमा पानी सफा भएका बेला ‘एयरब्रोन लेजर ब्याथिमेट्री सर्भे’ गरी हराइरहेका सवारी साधन खोज्न नदीको पिँधको नक्सा तयार गर्न भनेको छ ।

त्यस्तै जल तथा मौसम विभागसँग समन्वय गरेर उच्च जोखिमपूर्ण स्थानमा जडान भएका ‘अर्लि वार्निङ सिष्टम’ बाट ‘रियल टाइम डाटा’ लिई समुदायलाई सचेत र पूर्वतयारीमा राख्न सशस्त्रलाई ध्यानाकर्षण गराउँदै सुझाव दिइएको छ । सो कार्यदलले ठूला विपदमा विशेष गरी प्रदेश सरकारले समेत आफ्नो जिम्मेवारी र जवाफदेहितालाई ख्याल गर्नुपर्ने स्मरण गराएको छ । प्रदेशले पनि सवारी साधनको ‘भेइकल फिटनेस टेस्ट’ को व्यवस्था गर्नुपर्ने, सवारीको प्राविधिक मापदण्ड, वातावरणीय अध्ययन तथा उचित इन्जिनीयरिङको आधारमा सडक निर्माण गर्न कार्यदलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

सो कार्यदलले त्रिशूलीमा बेपत्ता परिवारका सदस्यलाई जनही २ लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको छ ।शव भेटिएका मृतकका परिवारलाई पनि २ लाख रुपैयाँ उपलब्ध गराउने र एकै परिवारका १ भन्दा बढी सदस्य बेपत्ता वा मृत्यु भएको अवस्थामा १ लाखभन्दा बढी रकम उपलब्ध गराउन पनि सरकारलाई सिफारिस गरेको छ । बीमामापत यात्रुले पाउने रकम सम्बन्धित स्थानीय प्रशासनको सिफारिशका आधारमा उपलब्ध गराउन भनिएको छ ।

कार्यदलका संयोजक रिजालले भने, ‘हामीले बीमा कम्पनी र यातायात व्यवसायीसंग पनि यस विषयमा छलफल गरेका थियौं,’ उनले अघि थप्दँै भने, ‘स्थानीय प्रशासनको सिफारिसका आधारमा बीमा रकम उपलब्ध गराउने सहमति भएको छ ।’ सो दुर्घटनामा घाइते भएका तीनजनाको सरकारले निःशुल्क उपचार गराइदिन कार्यदलले सिफारिस गरेको छ । दुर्घटनामा परी बेपत्ता रहेका बसमा मधेश प्रदेशको सर्लाही, रौतहट, बारा र पर्सा एवं भारत विहारसमेतका यात्रुहरु सवार थिए ।

Comment


Related News

Latest News

Trending News