‘कही नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेश प्रदेशमा भइरहेको छ । मधेश प्रदेशमा १२ वटा मन्त्रालय छ, तर मन्त्रीको संख्या २० पुगेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह सत्तारुढ गठबन्धनको आवश्यकतामा अझै मन्त्रीको संख्या बढाउने योजनामै रहेका छन् । आठ वटा मात्रै जिल्ला भएको मधेश प्रदेश भूगोलको आधारमा सानो छ । तर यति मन्त्री किन बनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । सर्वसाधारण नागरिक देखि विभिन्न क्षेत्रका बुद्धिजीवि, राजनीतिक दल, पेशा व्यवसायीलगायतका व्यक्तिहरुले सरकारको यस्तो गैरजिम्मेवार कामको आलोचना गरिरहेका छन् ।
यसैबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी मधेश प्रदेश कमिटीले आठ जिल्ला रहेको सानो भूगोलको प्रदेशमा १२ मन्त्रालय र २० मन्त्रीको आवश्यक्ता किन पर्यो भन्दै प्रश्न उठाएको छ । आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको विकास बजेट लुटने प्रपञ्च हो भन्दै प्रश्न गरेका छन् । ‘देशमा सुशासन, विकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेश प्रदेशमा ठिक उल्टो २० सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको विकास बजेट लुटने प्रपञ्च हो ? अध्यक्ष कुशवाहाले प्रश्न गरेका छन् ।
मधेश प्रदेशमा दलित, गरिबहरुको घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन । मधेश प्रदेशमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको र शिक्षा तथा स्वास्थय सेवाको स्तर खस्किरहेको बताउँदै उनले यहाँको व्यापार चौपट भएको, युवाहरुले रोजगार पाउँन नसकेको, सिंगै मधेश प्रदेश मावन विकास सूचकांकमा पछाडि परेको अवस्थामा सरकारले मिहिन तरिकाले काम गर्नुको साटो मन्त्री नियुक्त, विस्तार, भागबण्डा, भ्रष्टाचार र अनियमितताको खेलमा लागेको आजपा मधेश प्रदेशले जनाएको छ । ‘आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० वटा मन्त्रीको रेकर्डले के मधेशको नाम बढ़ाउने छ कि बदनाम गर्नेछ ? सिके राउतसंग सोध्न चाहन्छु ।
आज मधेशमा दलित र गरिबहरु घर बनेको पैसा सरकारले दिन सकिरहेको छैन, विद्यार्थीको अनुपात शिक्षक छैन, शिक्षा र स्वास्थ्यको स्तर खस्कदो छ, उद्योग व्यापार चौपट छ, युवाले रोजÞगार पाएको छैन, सिंगै मधेश मानव बिकास सूचकांकमा पछाडि छ । यस्तो अवस्थामा अनावश्यक मन्त्रीमण्डल बिस्तार कुनै पनि हिसाबले सही छैन ।
यस विषयमा गठबन्धनका नेताहरुले समयमा ध्यान देओस, नत्र जनता चुप लागेर बस्दैन ।’ मधेशको विकासका लागि ध्यान दिनुपर्ने सरकारले भ्रष्टाचारमा लिप्त रहेको र सत्तारुढ गठबन्धनमा रहेका पार्टी, नेतालाई भागवण्डाको आधारमा कमाउँने धन्दामा लागेको आरोप उनले लगाएका छन् ।

