अपडेट 
२०८१ श्रावण २५, शुक्रबार ०७:५१

बंगलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसात्मक घटनाहरुको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघ–संगठनहरूको बिहीबार सम्पन्न सर्वपक्षीय बैठकले धार्मिक सद्भाव कायम गर्न आग्रह गरेको छ ।

बैठकमा बंगलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारलाई घोषणा गर्न दबाब दिने निर्णय गरिएको राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले जनाएका छन् । सो बैठकले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीमाथिको दमन रोक्न कुटनीतिक नोट पठाउन पहल गर्ने निर्णय गरेको छ । आरक्षण विरोधी विद्यार्थीहरुको आन्दोलन चर्किएपछि गत सोमबार पदबाट राजीनामा दिएर तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेपछि हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आवास र धार्मिक स्थलहरुमाथि आक्रमण भएको बीबीसीलगायतका सञ्चार माध्यमहरुले जनाएका छन् ।

सर्वपक्षीय बैठकमा सहभागीहरूद्वारा नेपालस्थित बंगलादेशको दूतावासको ध्यानाकर्षण गराउनेमा जोड दिएको र दूतावास मार्फत बंगलादेश सरकारलाई शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गर्ने बताइएको छ । बैठकले बंगलादेशमा भएका असमाजिक हिंसात्मक घटनाहरुको विरोधमा आवाज उठाउन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन, र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय गरेको संयोजक यादवले बताए ।

सो बैठकका सहभागीहरूले बंगलादेशमा भइरहेको घटनाहरूको विरोध गर्न सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । सो बैठकले बंगलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको उल्लेख गर्दै अभियानका संयोजक यादवले भने, बंगलादेशमा भइरहेको अल्पसंख्यकमाथिको आक्रमण अन्त्य गर्न सबैको सहयोग चाहिन्छ । राष्ट्रिय एकता अभियानले समन्वय गरेको उक्त बैठकले बंगलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ ।

अभियानका केन्द्रीय संयोजक विनय यादवको अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुण कुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन बाँस्तोला, इस्कानका शैलेन्द्र प्रभुजीको सहभागिता रहेको थियो ।

त्यसैगरी बैठकमा श्रीकृष्ण प्रणमी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचन्द्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, श्री नेपाल वैदिक संचार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ओम ढकाल, दीपक सिंह महर्जनलगायतको सहभागिता थियो ।

बंगलादेशमा करिब ४ सय विद्यार्थीहरु रहेको बंगलादेशस्थित नेपाली राजदूतावासले यस अघि जनाएको थियो । विद्यार्थीहरुलाई सुरक्षित रुपमा रही दूतावासको सम्पर्कमा रहन आग्रह गरिएको छ । बंगलादेश हिन्दू, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तीमा १० वटा हिन्दू मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।

त्यो संख्या अझै बढेको अनुमान गरिए पनि आधिकारिक रुपमा पुष्टि गरिएको छैन । यसैबीच अन्तराष्ट्रिय सञ्चार एजेन्सी एएफपीले जनाए अनुसा विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बंगलादेशका सयौँ नागरिक भारत प्रवेशका लागि भारत–बंगलादेश सीमामा भेला भएको बिहीबार सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हसिनाको निष्कासनपछि मुस्लिम बहुल बंगलादेशका केहीले उनीसंगको निकट सम्बन्धको आशंकामा हिन्दूहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए । ‘सयौँ बंगलादेशी नागरिक प्रायः हिन्दूहरू, बंगलादेशसंगको भारतको सिमानामा भेला भएका छन् ’ भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमित कुमार त्यागीले बताए ।

पश्चिमबंगाल राज्यको भारतीय सीमा क्षेत्रको अन्तिम विन्दुमा २ सय जना र पश्चिमबंगाल राज्यको जलपाइगुडी जिल्लामा ६ भन्दा बढी भेला भएका त्यागीले बताए । उनले भने, ‘दुई देशबीचको सीमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए ’ उनले अघि थप्दैँ भने, अधिकारीहरूले सिमा क्षेत्रबाट भीड पन्छाउन हवाई फायर गरेका थिए । सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी थिइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ ।

Comment


Related News

Latest News

Trending News