अपडेट 
२०८१ श्रावण २७, आईतवार १५:१२

आन्तरिक राजस्व कार्यालय जनकपुरले व्यावसायिक प्यान नम्बर लिएका २२ हजार करदाताले वार्षिक कर नतिरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ती करदाताले आफैँ कार्यालय आई तिर्नुपर्ने कर नबुझाएको कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

सो कार्यालयअन्तर्गत ३७ हजार व्यावसायिक करदाता रहेको छ । त्यसमध्येका १५ हजार करदाताले मात्र वार्षिककर अर्थात् (आयव्यय) राजस्व बुझाएको बताइएको छ । कर नबुझाएमा कानुनबमोजिम कारबाही तथा जरिवाना हुने कार्यालयले स्पष्ट गरेको छ ।

यसैगरी,  पटक पटक ताकेता गर्दासम्म  राजस्व नबुझाउने २० वटा उद्योगी तथा व्यावसायिक  फार्ममाथि कानुनी कारबाही गरी गत आर्थिक वर्षमा १० करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए ।

लामो समयदेखि नियमानुसार लाग्ने कर दस्तुर नबुझाउने एक सय ७८ व्यावसायिक फार्मलाई  कारबाही गर्ने सूचना जारी गरेपछि २० व्यावसायिक फार्मले कर बुझाएका छन् ।

कार्यालयबाट उपलब्ध तथ्याङ्क विवरणमा सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनमा वृद्धि भएको जनाएको छ । प्राप्त विवरणमा अघिल्लो आर्थिक वर्ष  तीन अर्ब ७० करोडरुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा तीन अर्ब ४४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ४६ करोड ६३ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बर्ताैलाले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब ११ प्रतिशतले राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष सो कार्यालयले लिएको लक्ष्यअन्तर्गत आयकरबापतएक अर्ब ४५ करोड ४७ लाख रुपैयाँ , घरभाडाबापत  छ करोड ३५ लाख ६६ हजार रुपैयाँ , ब्याजकरबापत ११ करोड ११ लाख २२ हजार रुपैयाँ , मूल्यअभिवृद्धिकरबाप एक अर्ब ३० करोड १५ लाख ५५ हजार रुपैयाँ , अन्तशुल्कबापत एक अर्ब ५३ करोड ४२ लाख ८७ हजार रुपैयाँ , स्वास्थ्यकरबापत ११ लाख तीन हजार र शिक्षाकरवापत ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

प्राप्त विवरणमा गत आव ०८०/८१ मा आयकरबापत एक अर्ब १९ करोड  ३८ लाख ७१ हजार रुपैयाँ , घरभाडाबापत तीन करोड ५० लाख २२ हजार रुपैयाँ, ब्याजकरबापत सात करोड २० लाख ७४ हजार रुपैयाँ, मूल्यअभिवृद्धिकरबापत ९७ करोड ७८ लाख ६२ लाख रुपैयाँ, अन्तशुल्ककरबापत एक अर्ब  ५४ करोड  ६६ लाख २१ हजार रुपैयाँ, स्वास्थ्यकरवापत १५ लाख ३१ हजार रुपैयाँ, शिक्षाकरबापत एक लाख ६८ हजार तथा अन्यकरबापत १२ लाख २६ हजार रुपैयाँ गरी कुल तीन अर्ब ८२ करोड ८३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Comment


Related News

Latest News

Trending News