अपडेट 
२०८१ भाद्र १, शनिबार १७:१६

यस वर्ष देशभर झन्डै ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । देशभर १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

गएको आर्थिक वर्ष साउनसम्म ९० प्रतिशत मात्र रोपाइँ भएकामा चालू आर्थिक वर्षको साउनसम्म आठ प्रतिशतले बढेर रोपाइँ सम्पन्न भएको हो । यस वर्ष देशभर राम्रो वर्षा भएकाले पनि रोपाइँ पनि देशभर राम्रोसँग भएको मन्त्रालयले जनाएको छ ।

धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइँ गरिएको छ भने कोशी प्रदेशमा अन्य प्रदेशभन्दा कम ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्याङ्क छ । गएको आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा  ३५ अर्ब ९० करोड रुपैयाँको धान चामल आयात भएकोमा गएको आर्थिक वर्ष २०८०/८१ मा २१ अर्ब ३४ करोड रुपैयाँको मात्रै आयात भएको छ । गएको वर्ष धान उत्पादन बढेकाले धान चामलको आयात अघिल्लो वर्षकोभन्दा १३ अर्ब रुपैयाँले घटेको छ । यो वर्ष झन्डै छ प्रतिशतले धानको उत्पादन वृद्धि हुने अनुमान गरिएकाले आयात थप घट्ने प्रक्षेपण गरेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News