अपडेट 
२०८१ भाद्र २, आईतवार ०७:४८

जनकपुरधामस्थित रेल्वे लिक वरपर दुर्घटना रोक्नका लागि तारजाली लगाइँदै छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि वंशी चोकसम्म रेल्वे विभागले लिकलाई तारजालीले घेराउ गर्दै फलामको पिलर ठड्याइएको छ । रेल्वे लिकको ड्यामको दुवैतर्फ गाडिएको फलामको पिलरमा तारजाली लगाइनेछ । जनकपुर रेल्वेका इन्जिनियर विनोद ओझाका अनुसार सुरक्षाका लागि सहरी क्षेत्र र बढी भीडभाड हुने इलाकामा रेल्वे लिकलाई तारजालीले घेर्ने काम भइरहेको छ ।

रेल विभागका प्रवक्ता कमलकुमार शाहले पहिलो चरणमा जनकपुरको सहरी क्षेत्रमा रेल्वे लिकलाई तारजाली लगाएर घेरिने जानकारी दिए । उनले रेल सञ्चालनमा बाधा–व्यवधान नआओस् भनेर सुरक्षाका लागि तारजाली लगाउन थालिएको बताए । रेल विभागका प्रवक्ता शाहका अनुसार रेल गुडिरहेकै बेला लिकमा मानिस र गाईगोरु आइदिँदा समस्या भइरहेको छ ।

२०७९ पुस १३ यता रेल्वेमा दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको थियो । सो अवधिमा रेलको लिकमा किचिएर ७ जना अंगभंग भएका छन् । एक जनाको भने रेलमा चढेका बेला हृदयघातले मृत्यु भएको रेल्वे सुरक्षामा खटिएका सशस्त्र प्रहरीका डीएसपी दयाराम पौडेलले जानकारी दिए । रेल्वेको सुरक्षाका लागि प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीका ६० जना जनशक्ति परिचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News