२०८१ भाद्र ३, सोमबार १०:५३

यही भदौ ९ गते आधारभूत संगठन निर्माणको चार महिने अभियान उद्घाटन गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय अभियन्ताहरूका लागि कार्यादेश तोकेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार परिपत्र जारी गर्दै वैचारिक तथा राजनीतिक प्रशिक्षण सञ्चालन गर्ने गरी केन्द्रीय सदस्यहरूको कार्यादेश तय गरेका हुन्। यसअनुसार केन्द्रीय अभियन्ताहरूले पार्टी विधान, पार्टी एकताको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेजबारे प्रशिक्षण आयोजना गर्नुपर्ने छ।

त्यस्तै, विभिन्न राजनीतिक दलहरूसँग जसपाको राजनीतिक-वैचारिक भिन्नता, उत्पीडित जाति/समुदायको पहिचान, राजनीतिक अधिकार, राज्यमा समान प्रतिनिधित्व, सामाजिक विभेद लगायत विषय उजागर गर्ने कामसमेत अभियन्ताहरूले गर्नुपर्ने छ।

केन्द्रीय अभियन्ताहरूले कोशी प्रदेशको नाम खारेजी र ऐतिहासिक पहिचानका आधारमा नामांकन गर्न दबाब सिर्जना गर्ने, समुदायमा जागरण ल्याउने र पार्टी विभाजनबारे भण्डाफोर गर्नुपर्ने भनी निर्देशन गरिएको छ।

पार्टीका ४१५ जना केन्द्रीय अभियन्तालाई संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद तथा समाजवादी लोकतन्त्रको अवधारणाबारे प्रस्ट्याउन खटाइनेछ। त्यस्तै, समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण प्रस्ट्याउने गरी केन्द्रीय नेताहरुलाई अभियानमा खटाइने छ।

चुरे वन संरक्षण सम्बन्धमा जनजागरण अभियान सञ्चालनका लागि पनि जसपा नेपालले केन्द्रीय सदस्यहरूको कार्यादेश निर्धारण गरेको छ।

जसपा नेपालको साउन २७–३० मा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरूलाई अभियन्ताका रूपमा चार महिना पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको थियो।

Comment

Related News

Latest News

Trending News