अपडेट 
२०८१ भाद्र ७, शुक्रबार ०७:४३

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक सञ्जाल अन्तर्गतको टिकटकमाथि लगाइएको प्रतिबन्ध केपी शर्मा ओलीको सरकारले हटाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगेको प्रस्तावमाथि छलफल गर्दै केही सर्तानुसार मन्त्रिपरिषद्ले टिकटक खुलाउने औपचारिक निर्णय गरेको छ । सो निर्णय भएसंगै प्रतिबन्धित टिकटक एप केही दिनपछि सहज रुपमा चलाउन पाइने भएको छ । सामाजिक सञ्जालको सञ्चालनसम्बन्धी निर्देशिका– २०८० को दफा–३ अनुसार सामाजिक सञ्जाल सञ्चालनका लागि मन्त्रालयमा सूचीकरण गर्नुपर्ने र ‘पोइन्ट अफ कन्ट्र्याक्ट’ पनि तोकिनुपर्ने सर्तसहित टिकटक खुलाइएको मन्त्री गुरुङले बताए ।

सूचीकरण भइसकेपछि उपदफा ६ अनुसार पोइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्ने प्रावधान रहेको उनले बताए । यसका साथै केही सर्तहरू राखेर मात्रै टिकटक खुलाउन दिइने सहमति भएको मन्त्री गुरुङले बताए । उनले चारवटा बुँदामा टिकटकले नेपालमा गर्नुपर्ने सर्तहरू अघि सारिएको छ । सरकारले प्रतिबन्ध लगाए पनि विभिन्न वैकल्पिक प्रक्रियामार्फत टिकटक चलिरहेकै थियो । केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो ।

केही दिनपछि निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ । कतिपयले बिहीबारबाट टिकटक चलाउने मिल्ने पनि भनिरहेका छन् ।तर सञ्चारमन्त्री गुरुङले नीतिगत रुपमा मात्रै टिकटक खुला गरिएको दाबी गरे । उनले प्रस्ट पार्दै भने, ‘ नीतिगत रुपमा त खुल्यो, केही दिनदेखि खुल्छ । टिकटकजस्तै अन्य सामाजिक सञ्जालले पनि पोइन्ट अफ कन्ट्र्याक्ट गर्नुपर्यो ।’

Comment


Related News