अपडेट 
२०८१ भाद्र ७, शुक्रबार ०७:४८

गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेता प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता रहेको बताएका छन् ।

स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो वार्षिकीको अवसरमा लहान–१४ मा रहेको प्रदीप गिरी आश्रममा आयोजित स्मृति सभामा बोल्दै देशले एक सच्चा जननेता गुमाएको उनले बताए । ज्ञानको सागरको संज्ञा दिँदै उनले प्रदीप गिरीको भौतिक शरीर नरहे पनि वैचारिकरूपमा कहिलेपनि मर्न नसक्ने भन्दै संविधानमा दलित महिला जनजाति र मधेशीको समावेशी चरित्रको संविधान लेखनमा उनको भूमिका रहेको स्मरण गरे ।

गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता लेखकले भने, “प्रदीप गिरीसँग रहेर नेपाली काँग्रेसमा सँगसँगै काम गर्न पाएकोले नजिकबाट उनलाई चिनेको छु । बिपी गणेशमानपछिको दार्शनिक नेता प्रदीप गिरी हुनुहुन्थ्यो ।“ उनले भने, ‘नेपाली कांग्रेसमा गाँउको विकास भएमात्रै देशको विकास सम्भव हुने आफ्नो दहोरुपमा आफ् नो तर्क पार्टीभित्र मात्रै होइन, नेपालका कम्युनिष्टहरुलाई समेत माक्र्सवाद पढाउन सक्ने नेता प्रदीप दाइ हुनुहुन्थ्यो’, गृहमन्त्री लेखकले अघि थप्ँदैँ भने, ‘अद्भूत क्षमता भएको प्रदीप दाइले भूगोल र धर्मको आधारमा कहिल्यै विभेद गर्नुभएन । अधिकारबाट वञ्चित समुदायको अधिकार प्राप्ति नभएसम्म लोकतन्त्र मजबुत हुन नसक्ने तर्क गरिरहनुहुन्थ्यो ।’ उनले भने, “संविधान निर्माणमा उहाँले उठाउँदै आइरहेको ‘दमजम’ दलित महिला, जनजाति र मधेशीको अधिकारको कुरा समेटिएकोले यस संविधानलाई बलियो बनाउन सकेमात्रै प्रदीप दाइको सपना सकार हुनेछ ।“ नेपाली कांग्रेसले प्रदीप दाइले देखाउनु भएको राजनीति, आर्थिक, सामाजिक पक्षहरूलाई सम्पत्तिको रूपमा ग्रहण गरेर अघि बढेमात्रै लोकतन्त्र सबल हुने र देश सफल हुने गृहमन्त्री लेखकले तर्क गरे । उनले भने, ‘प्रदीप गिरीको विचारलाई ग्रहण गर्न प्रदीप गिरीको अध्ययन चिन्तन गर्ने यस आश्रमलाई अध्ययन केन्द्रको रूपमा रूपमा विकास गर्न आवश्यक छ ।’ सुशासनका लागि स्थिरता आवश्यक रहेकोले कांग्रेस–एमाले मिलेर सरकार गठन भएको गृहमन्त्री लेखकले प्रष्टयाए । उनले भने, ‘संविधानको कार्यान्वयन गर्न दुई ठुला पार्टी नमिलेपछि अर्को विकल्प नभएर स्थिर सरकार दिन दुई ठुला पार्टी मिलेको हो ।

काठमाण्डुमा सरकार परिवर्तन हुँदा सातै प्रदेशमा सरकार परिवर्तन हुने अस्थिरताले जनतामा अविश्वास देखिएको थियो । जनताको चाहना पुरा गर्न देश बाहिर र भित्रबाट लगानी भित्र्याएर रोजगारी सृजना गर्न यो सरकार गठन भएको हो ।’ सो कार्यक्रममा लहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य पदम नारायण चौधरीले प्रदीप गिरीको सपना सकार गर्न वर्तमान सरकारले गरिब विपन्न जनताको आवास शिक्षा स्वास्थ्य र रोजगारको क्षेत्रमा काम गर्नुपर्ने बताए ।

उनले अघि थप्दैँ, ‘प्रदीप गिरीको नाउँमा यस आश्रममा अस्पतालको निर्माण हुन आवश्यक छ ।’ देशकै सबैभन्दा बढी वडा भएको लहान नगरपालिकालाई उपमहानगरपालिका घोषणा गर्नुपर्ने, प्रदीप गिरीको आश्रमलाई राजनीति पर्यटकीय क्षेत्रमा विकास गर्न सलहेश पर्यटन क्षेत्रको लागि संघीय सरकारले सघाए प्रदीप गिरीले देखाएको मार्ग र प्रेरणाबाट अघि बढेर सुन्दर समृद्ध लहान हुने ध्यान आकर्षण गराएका थिए । लहान–१४ स्थित प्रदीप गिरीको आश्रममा स्मृतिसभा सम्पन्न भएपछि लहान नगरपालिकाको सभा हलमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूसंग समेत गृहमन्त्री लेखक भेटघाट गरेका थिए ।

Comment


Related News