अपडेट 
२०८१ भाद्र ७, शुक्रबार ०७:५१

महोत्तरीको रमौलमा एक नवविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित रमौलकी २० वर्षीया रिना देवी राय रहेकी छन् ।

रिनाको मंगलबार मध्यरात १ बजे मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । विवाह भएको केही महिनापछि दाइजोको निहुँमा पति रोहनकुमार राउतसहितका परिवारले हत्या गरेको माइतीपक्षले दाबी गर्दै प्रहरीमा जाहेरीसमेत दिएको छ । महोत्तरी प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले पति रोहनले मध्यराति खाना खाएरंँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याइएको प्रहरीलाई प्रारम्भिक बयान दिएको जनाए ।

माइतीपक्षले आफूहरू पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम पनि देखिएकोले हत्या भएको दाबी गरेको छ । छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चार सदस्यविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको जनाइएको छ ।

ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी र देवर २५ वर्षीय ओमकुमारविरुद्ध जाहेरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएको छ । रिना मंगलबार मात्रै माइतबाट घर फर्केकी थिइन् । रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा हुनेछ । पोस्टमार्टमपछि के कति कारणले मृत्यु भएको खुल्ने प्रहरी नायब उपरीक्षक जैसवारको भनाइ छ ।

घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन । धनुषाको हँसपुर नगरपालिका–६ स्थित सोनिगामाकी गत वैशाख १९ मा सामाजिक परम्पराअनुसार रोहनसँग रिनाको विवाह भएको थियो । माइती पक्षले लत्ता, कपडा, भाडाकुँडा, फर्निचर, सुन, चाँदीलगायतका गरगहना तथा नगद गरी १५ लाखभन्दा बढी रकम खर्च गरेको रिनाको बुबा नवल रायले बताए ।

Comment


Related News