अपडेट 
२०८१ भाद्र ११, मंगलवार ०७:२६

अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को कानूनी व्यवस्था अनुसार असार १० गतेसम्म स्थानीयतहले बजेट ल्याउन सकेको छैन । तर सप्तरीको राजविराज नगरपालिकाले नै समय सीमाभन्दा दुई महिना बढी भइसक्दा पनि बजेट ल्याउन नसक्दा बजेट अन्योलता कायमै देखिएको छ ।

बजेट ल्याउने समय सीमा सकिएको दुई महिनाभन्दा बढी भइसकेको छ । तर पनि आगामी आर्थिक वर्षको बजेट ल्याउने मिति निर्धारण गर्न नसक्दा संघीय अनुदान कटौतिसँगै विकास निर्माणका काम, आन्तरिक आयव्ययमा वृद्धि लगायत काम प्रभावित हुने देखिएको छ । त्यस्तै कानुनी व्यवस्थाको अवज्ञा तथा जनप्रतिनिधिको कार्यक्षमताबारे समेत प्रश्न उठन थालेको छ ।

स्थानीयतहको बजेट साउन १ गतेबाट कार्यान्वयनमा जान्छ, तर भदौँ १० गते पार गरिसक्दा पनि राजविराज नगरपालिकाले बजेट ल्याउन सकेको छैन, राजविराज नगरपालिकाका निवर्तमान मेयर शम्भुप्रसाद यादव भन्छन्, ‘बजेट समयमा नल्याउँदा अगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने तयारी एकातीर पुग्दैन भने अर्को तिर नगरपालिकालाई आर्थिक नोक्सानी समेत व्यहोर्नु पर्नेछ ।’ आन्तरिक विवाद र तयारी नपुग्दा कानूनी व्यवस्था अनुसार अन्तिम मिति असार १० मा बजेट ल्याउन नसकेका नगरपालिका पार गर्दै त्यसको दुई महिनाभन्दा बढी हुन लाग्दा पनि अहिलेसम्म मिति तय गर्न नसक्नु दुःखद भएको उनको कथन छ । यसले गर्दा आउने दिनमा नगरवासीसमेतलाई सास्ती भोग्नुपर्ने हुँदा आफू चिन्तित रहेको उनले बताए ।

समयमै नगरसभा सम्पन्न नभएपछि पालिकाको आर्थिक कारोबार, तलब भुक्तानी, विकास निर्माणलगायतका कामसमेत प्रभावित हुने त्यहाँको कर्मचारीहरु बताउँछन् । जसपा नेपालको बहुमत रहेको पालिकामा उपमेयर ईसरत प्रवीण कार्यबाहकको जिम्मेवारी पाएकी छन् । मेयर भीमराज यादव हाल निलम्बित अवस्थामा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बित छन् ।

विशेष अदालतले उनको विपक्षमा आदेश दिएपछि अहिले उनी न्याय खोज्दै सर्वोच्चमा पुगेका छन् । यसबारे छिट्टै सर्वोच्चको फैसला आउने अड्कल गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ्गले आन्तरिक तयारी गर्दागर्दै ढिलो हुन गएको बताउँछन् । उनले योजनागत बाँडफाँटको कतिपय विषयमा टुंगो लागिसकेको र केही वडाको सिलिङ्ग तयारी हुँदै गरेको भन्दै छिट्टै नै नगरसभाको मिति तोकिने बताए । स्थानीयवासीले आन्तरिक खिचलो र विभिन्न विवादका कारण बजेट ल्याउन ढिलाइ भइरहेको भन्दै सो विवाद तत्कालका लागि समाधान गरी नगरसभाको मिति अविलम्ब तोक्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News