अपडेट 
२०८१ आश्विन २१, सोमबार ०८:०८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाढीडुबान र पहिरोका कारण नागरिक पीडामा रहेकाले तत्काल उद्धार तथा राहत वितरणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

धनुषाको लालगढमा पार्टी बैठकमा सहभागी हुन आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले जनताको समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । एकीकृत समाजवादी मधेश प्रदेशको पदाधिकारीस्तरीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै अध्यक्ष नेपालले बाढी र पहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक हुनसमेत सरकारसंग आग्रह गरे । उनले भने, “अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन् । सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ ।” उनले बाढीपहिरो जस्ता विपद्बाट जनधनको सुरक्षा गर्न पूर्वतयारी कम हुँदा धेरै क्षति भएको बताए । उनले भने, “कुनै ठाउँमा पहिरो जान सक्ने कुनै ठाउँमा भुस्खलन हुनसक्ने, कुनै ठाउँमा तटबन्ध अझै तोड्न सक्ने सम्भावना भएकाले यस्ता जोखिम न्यूनीकरण गर्न सरोकार भएका सबे सचेत हुनु जरुरी छ ।”

मधेश प्रदेशको तीन ठाउँमा उपनिर्वाचन हुन लागेका बताउँदै अध्यक्ष नेपालले पार्टीका जिल्लाजिल्लामा पनि अधिवेशन गरेर केन्द्रीय अधिवेशनको तयारी भइरहेको बताए । अध्यक्ष नेपालले उपनिर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिए । सो बैठकबाट आउँदो पुस ६ र ७ गते प्रथम मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा आयोजना गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।

नेकपा एसका मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको सो बैठकमा मधेशी उपाध्यक्ष धर्मनाथ प्रसाद साह, महासचिव घनश्याम भुषाल र उपमहासचिव रामकुमार भट्टराई, एस मधेश प्रदेशका पदाधिकारीहरु, मधेश प्रदेश भूगोल रहेका पार्टीको पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठकमा उपस्थिति रहेको थियो ।

Comment


Related News