बडादशैँका बेला अनादि कालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा यस वर्ष पनि भूत मेलाको तयारी सम्पन्न भएको छ ।
जिल्लाको औरही नगरपालिकामा–७ स्थित सोनामाई शक्तिपीठ परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ । प्रत्येक वर्ष दशैँमा दश दिनसम्म करिब आठदेखि १० लाख श्रद्धालु भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । सो शक्तिपीठमा चार दिनसम्म चल्ने भूत मेलामै सहभागी हुन मात्रै करीब दुई लाख व्यक्ति आउने हुँदा सो दिनका लागि धामी झाक्री बस्ने ठाउँ, भजन किर्तन स्थल, भक्तजनको रात्रि विश्राम, भूत पिसाच, बोक्साबोक्सी र जादु टुनाबाट पीडित व्यक्ति खेल्ने स्थान र आम भक्तजनले भूत खेलेको हेर्ने स्थानका साथै सूरक्षाको भरपर्दो तयारी गरिएको पूजारी कामेश्वर झाले बताए ।
हरेक वर्ष बडादशैँको सप्तमीदेखि सोनामाईमा लाग्ने भूत मेला यस वर्ष पनि धुमधाम साथ लाग्ने तथा सोही मेलाका लागि युवाहरुको एक दस्ताले सबै तयारी पूरा भएको पूजारी झाले बताए । बडा दशैँको सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ पीडित (कारनी) र दर्शनार्थीको भीड लाग्ने गरिन्छ । भूत प्रेत, बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौँ पीडित प्रत्येक वर्ष सो मेलामा आउने गर्छन् भने सोनामाईको असिम कृपाले निको भएर जाने गरेको धार्मिक विश्वास रहेको छ ।
वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउने बित्तिकै निको भई आ–आफ्ना घर फर्कने गरेको सहायक पुजारी अरुण झा बताउँछन् । सो भूत मेलाका लागि टाढा टाढासम्म मेला भर्न महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौँडा, धरान, विराटगर र काठमाण्डुदेखि भारतका सीतामढी, मधुवनी र पटना शहरसम्मका हजारौ पीडित महिला तथा पुरुष पुग्ने गरेको अर्का पूजारी झगरु झा बताउँछन ।
घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी (पीडित) हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै दर्शन गर्न आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामूक्त भइ हाँस्दै जाने गरेको झाँक्रीहरु बताउँछन् । सोनामाई शक्तिपीठमा दर्जनौँ धामी झाँक्री रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पूजारी रमेश झा बताए ।
माताको दरबारमा एक पटक पुग्ने पीडितको शरिरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने धार्मिक विश्वास छ । प्रत्येक वर्ष लाखौँ दर्शनार्थी मेला भर्न आउने सोनामाई शक्तिपीठमा यसवर्ष सोनामाईको भूत मेलामा दुई लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।