अपडेट 
२०८१ आश्विन २४, बिहीबार ०६:२१

तिथिमिति हेरफेरको कारण यस पटक विगतभन्दा बेग्लै किसिमले बडादशैँका विभिन्न साइत जुरेको छ । जसले गर्दा बिहीबार एकैपटक विजया दशमीको अवसरमा बेलतोडी, खोइँछ भराइँ र बोकाबली प्रदान हुने भएको छ ।

जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा एकैदिन बेलतोडी, खोइँछ भराइँ र बोकाबली पनि प्रदान हुने भएको छ । सप्तमी तिथि रहेको अष्टमी तिथि पनि बेलुका सोही दिन पर्ने भएकाले बोकाबली गर्ने निणर्य गरिए अनुसार बली प्रदानको कार्यक्रम रहेको महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार राजदेवी मन्दिरमा बिहीबार बेलुका साढे ६ बजेदेखि बोका बली प्रदान हुने छ । मिथिला पञ्चांगका अनुसार सो दिन सप्तमी तिथि रहे पनि बेलुका अष्टमी तिथि सुरु भएर त्यसको भोली पल्ट बिहानसम्म मात्रै अष्टमी तिथि रह्ने छ । तिथिकै हेरफेरका कारण बोकाबलीका लागि असोज २४ गतेकै मिति राख्ने निर्णय गरिएको उनले स्पष्ट गरे ।

अध्यक्ष गुप्ताले बुधबार साँझसम्ममा बोका बलीका प्रदानका लागि पाँच हजारभन्दा बढीले रसिद काटिसकेको बताए । उनले यसपटक विगतभन्दा बढी भक्तजनले बली प्रदानका लागि रसिद कटाउने भएकाले अलग अलग स्थानमा विभिन्न युवा कमिटी तथा जिम्मेवार पदाधिकारीले रसिद काट्ने गरेको बताए ।

गत वर्ष १५ हजार २५१ बोकाको बली प्रदान गरिएको थियो भने यस पटक सोभन्दा बढी बली प्रदान हुने उनको भनाइ छ । सो बोका बली प्रदानका लागि जनकपुरधाम उपमहानगरपालिकाले १५ हजारभन्दा बोराको व्यवस्थापन गरेको उनले बताए । सो बोरामा बली प्रदान गरिएको बोका राखेर भक्तजनले आ–आफ्नो गन्तव्यमा लैजाने छन् ।

Comment


Related News