महिला साफ च्याम्पियनशिपमा भारतले विजयी शुरुवात गरेको छ ।
हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले विजयी शुरुवात गरेको हो । भारतको जितमा ग्रेस डाइङमेइले दुई तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान एक गोल गरे । यस्तै पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरे ।
महिला साफ च्याम्पियनशिपमा आज आयोजक नेपाल र भुटान तथा श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । खेल कात्तिक १४ गतेसम्म चल्ने छ ।
नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।